भनिन्छ, ‘घर जलेको सबैले देख्छन् मन जलेको कसैले देख्दैनन् । मन भित्रभित्रै जल्ने कसैले थाहा नपाउने भएकाले कुनै अप्रिय घटना घटेपछि मात्रै थाहा पाउने गरिन्छ।जसको एउटा उदाहरण आफैले जानी–जानी गरिने आफ्नै हत्या अर्थात आत्महत्यालाई लिन सकिन्छ ।

मानिस असाधारण क्रियाकलाप प्रदर्शन गर्दै स्थिति नियन्त्रण बाहिर गइसकेपछि आत्महत्याको बाटो अँगाल्न थालेपछि म्याग्दीमा समेत आत्महत्याको घटना उकालो लागेको छ । गत बर्ष म्याग्दीमा ३१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

आव ७८÷७९ मा आत्महत्या गर्ने ३१ जनामा १८ बर्षमुनिका १ बालिका, २ बालक, १९–२५ उमेर समुहमा ३ महिला, ५ पुरुष छन् । मृत्यु समेत नचिनेका कलिला बालबालिका कपीकलम, झोला लिएर विद्यालय गए भनेर ढुक्क भएका अभिभावकले पासोमा देख्नुपरेको छ । आत्महत्या एकदम समस्यामूलक घटना बनेर देखा पर्न थालेको छ । म्याग्दीमा आत्महत्याको बाटो रोज्नेको प्रष्ट कारण नखुलेपनि क्षणिक आवेगमा आएर मृत्यु रोजेको हुनसक्ने प्रहरीले तयार पारेको स्थलगत मुचुल्कको नोटमा देखिन्छ ।

झुन्डी, विष सेवन, हामफाली ज्यान गुमाउनेले हालसम्म आत्महत्या न्युनिकरण गर्न सहर देखी गाउँसम्म सञ्चालन गरिएका जनचेतनामुलक कार्यक्रम, मनोबैज्ञानिक परामर्श लगायत विभिन्न कार्यक्रमहरूलाई समेत चुनौती दिएको छ।कलिला बालबालिकादेखि ७०–८० बर्षका बृद्धबृद्धाले आत्महत्याको बाटो रोज्न थालेपछि डरलाग्दो सामाजिक समस्याको रुपमा देखा परेपनि न्यूनिकरण सहितका अभियानहरुलाई प्रभावकारी बनाउन सकिएको छैन् ।

कलिलो उमेरका बालबालिकाले आत्महत्या गर्नुको कारण खोतल्न चुनौती खडा भएपनि पाको उमेरकाले गरेको आत्महत्याको मुख्य कारण अशिक्षा, अनिच्छित गर्भधारण, मानसीक रोगीलाई उपचारको अभाव, गरिवी, घरायसी कलह, युवापुस्ताका मानिसमा उच्च महत्वकांक्षा पुरा गर्न नसकेको, प्रेममा असफल, बैदेशिक रोजगारमा गएको बेला श्रीमतिले परपुरुषसँग गर्ने अनैतिक सम्बन्ध, सम्पत्तीको अपचलन, पारिवारिक सम्बन्धमा आएको तिक्तता जस्ता कारणहरू रहेको बताइन्छ ।

म्याग्दीमा जीवनप्रति चरम निराशाको भाव भएको अवस्थामा आत्महत्या रोज्नेमा महिलाभन्दा पुरुष धेरै देखिन्छन् । आव ०७८÷०७९ मा आत्महत्या गर्ने ३१ जनामा पुरुष २१ जना, महिला ८, बालबालिका २ जना छन् ।

मानसिक बिचलनबाट १४, मानसिक सन्तुलन गुमाएर ६ जना, दिर्घरोगी ७ जना, प्रेममा असफल र गरिबी २ ले आत्महत्या गरेको प्रहरीको विश्लेषण छ ।आत्महत्यालाई अन्तिम बाटो रोज्ने अवस्थाका मासिनले विभिन्न संकेत छोड्ने गरेपनि हेल्चेक्राइले दुर्घटना निम्तिने गरेको छ ।

जीवनमा एक सेकेन्डले पनि परिवर्तन सम्भव छ भन्ने सन्देश प्रवाह गर्न सकिएमा आत्महत्या रोक्न सकिने भएकाले ब्यापक जनचेतना फैलाउनुपर्छ । विभिन्न अनुसन्धानका आधारमा जिल्लाका करिव १५–२० प्रतिशत आत्महत्या गर्नेले पटकपटक प्रयास गरेको देखिन्छ । आत्महत्या गर्न खोज्नेलाई सबैभन्दा धेरै मायाँ गर्ने, एक्लो महसुस हुन नदिने, प्रशंसाको समेत आवश्यकता पर्ने परामर्शदाता बताउँछन् ।

आत्महत्या मानसिक रोगजन्य विकार हो ।आत्महत्या गर्ने व्यक्तिले कुनै न कुनै रूपमा यो सोच आएको विषयमा संकेत दिने र यो समयमा परिवार, साथीभाइको सानो सहयोगले कुनै पनि व्यक्तिलाई बचाउन सकिने भएकाले म्याग्दीमा यस्ता घटना न्यूनिकरण गर्न मनोपरामर्शदाताको आवश्यकता छ । हरेक बर्ष एकपटक दिवसको रुपमा मनाएर मात्रै आत्महत्याको संख्या न्यूनिकरण गर्न सकिदैन् । तनाव, डिप्रेसन जस्ता मानसिक समस्याहरु आत्महत्याका मार्ग भएकाले यसलाइ्र्र रोकथाम गर्न परिवारबाटै चासो दिन जरुरी छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

Leave a Reply