म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आठौं बार्षिक साधारण सभाको मिति हेरफेर भएको छ ।  धवलागिरी गाउँपालिका वडा नं ७ ताकममा गरिने साधारणसभा र गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा महिला भलिबल प्रतियोगिताको मिति जुधेपछि मोनाले तालिका नै परिवर्तन गरेको हो।

मोनाले पहिला आफूँले मिति घोषणा गरेपनि म्याग्दीमै महिला भलिबल सहितको राष्ट्रिय खेलकुदको तालिका एकैसमय परेपछि पूर्व निर्धारित असोज २७ र २८ गते ताकम माविको प्राङ्गनमा हुने साधारणसभालाई असोज २४ र २५ गते गर्ने निर्णय भएको महासचिव हरि राम्जालीले जानकारी दिनुभयो ।

जिल्लाको पहिचानलाई स्थापित गर्ने अभियानमा मोनाको सधै साथ र सहयोग रहेकाले अगाडी नै साधारणसभा सम्पन्न गर्ने गरी कार्यतालिका हेरफेर गरी तयारी सुरु गरेको महासचिव राम्जालीको भनाई छ । राष्ट्रिय खेलकुद अन्तरगत भलिबल प्रतियोगिता असोज २७ देखि कात्तिक २ र तेक्वान्दो असोज २८ गतेदेखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ ।

विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाको बार्षिक साधारणसभाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता, म्याग्दीको पहिचान थाली र पुख्यौली नाच सहित विविध कार्यक्रम समेत हुने मोनाका सचिव सुबोध बरुवालले बताउनुभयो । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ ।

यसपटक ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई कार्यतालिकामा प्राथमिकता दिइएको मोनाले जनाएको छ । त्यस्तै १ लाख प्रथम पुरस्कार रहेको भलिबल प्रतियोगिताको समेत ब्यापक प्रचारप्रसार गरिएको छ । मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताउनुभयो । मोनाको विश्वभर २८ देशमा राष्ट्रिय समिति,५ वटा क्षेत्रीय समिति रहेका छन् ।

 

 

Leave a Reply