गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको भलिबल र तेक्वान्दो प्रतियोगिता हुने म्याग्दीमा तयारी तिब्र पारिएको छ । असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल र तेक्वान्दो प्रतियोगिता म्याग्दीको बेनीमा सञ्चालन हुँदैछ ।

तेक्वान्दो प्रतियोगिता सदरमुकाम बेनी बजारमा रहेको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुँदैछ । त्यस्तै भलिबल प्रतियोगिता बेनी बजारको खुल्ला मञ्चमा हुँदैछ । दुबै प्रतियोगिता हुने स्थानमा पूर्वाधार निर्माण कार्य तिब्र रुपमा अगाडि बढाइएको छ ।

राष्ट्रिय खेलकुद अन्तर्गतको महिला भलिबल असोज २७ गते उदघाटन तथा खेल तालिका सार्वजनिक गरिने जिल्ला खेलकुद विकास समिति म्याग्दीका सदस्य एवम् जिल्ला भलिबल संघ म्याग्दीका महासचिव कुमार किसानले बताउनुभयो । उहाँका अनुसार सात प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ गरी १० टिम सहभागी हुने भलिबल प्रतियोगितालाई दुई पोलमा विभाजन गरेर लिग सिस्टममा खेलाइने छ ।

महिला भलिबलमा गैरआवासीय नेपालीको एनआरएन टिम सहभागी नहुने किसानले जानकारी दिनुभयो । भलिबल प्रतियोगिता सञ्चालन हुने बेनी बजारको खुलामञ्च सम्याउने तथा प्याराफिट एवम् मुलगेट रङरोगनको काम अन्तिम चरणमा पुगेको भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

प्रतियोगिताको पछिल्लो जानकारी अनुसार तेक्वान्दो तर्फ सातवटा प्रदेश र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं गैरआवासीय नेपाली गरी ११ टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले जानकारी दिनुभयो ।

Leave a Reply