आसन्न प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको लागि म्याग्दीको बेनीमा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत समेर हनुभएका जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालले उद्घाटन गर्नुभयो । कार्यालयबाट निर्वाचन सम्बन्धी सबै गतिबिधि र कामकाज सञ्चालन हुने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

निर्वाचन सम्बन्धी प्रशासनिक काम, मनोनयन दर्ता, मतदान सामग्री भण्डारण, मतगणना लगायतका कामका लागि कार्यलय स्थापना गरिएको हो । कार्यालयमा सुरक्षाकर्मीको नियमित उपस्थित हुने भएको छ । कार्यालय स्थापनासँगै निर्वाचनको तयारी औपचारिक रुपमा शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अव चुनावी माहोल सुरु भएको छ।

उद्घाटनपछि निर्वाचन आचार संहिता सम्बन्धी अन्तरक्रीया गरिएको थियो । मुख्य निर्वाचन अधिकृत नेपालले आचार संहिताको कार्यान्वयन गरि चुनावलाई स्वच्छ बनाउनु राजनीतिक दल, उमेद्वार, सुरक्षाकर्मी, प्रशासन र नागरिक समाजको साझा दायित्व भएको बताउनुभयो । असोज २३ गते हुने मनोनयन दर्ताका क्रममा २५ जना भन्दा कमको मात्र जुलुस गर्न पाइने र बाजा बजाउन नपाउने आचारसंहिता रहेको मुख्य निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।

यसैगरी मनोनयन दर्ताका क्रममा उमेद्वारले सम्पत्ति विवरण भरेर खामबन्दी गरेर बुझाउनुपर्ने व्यवस्था रहेको छ । फरक फरक दलको समय मिलाएर, आवश्यक सबै कागजात तयार पारेर मनोनयन दर्ताका लागि आउन दलहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । छलफलमा राजनीतिक दल, सुरक्षा निकाय, प्रशासनका प्रतिनिधिहरुको उपस्थिति थियो ।

Leave a Reply