म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा अहिले धमाधम रंगरोगन गर्ने, खेल मैदान स्तरोउन्नती, आसपासका क्षेत्रको अब्यवस्थित संरचना हटाउने काम भइरहेको छ । भताभुङ्ग र भद्रगोल खेलमैदानमा चिटिक्क देखिन थालेको छ । खेलमैदान विस्तार र स्तरोन्नतिको काम गर्नेलाई भन्दा खेल्न र घुम्न जानेलाई लाच लाग्ने अवस्थामा रहेकोमा अहिले हेभी इक्यूमेन्टको प्रयोगले खेलमैदानको मर्मत र प्याराफिटमा रंगरोगन, भगवति मन्दिरमा वडा कार्यालयबाट जस्तापाता राखिएको छ ।

चालु आवमा संघीय सरकारबाट सुन्य बजेट र गण्डकी प्रदेश सरकारबाट जम्मा ८ लाख बजेट विनियोजन भएको खुल्लामञ्चमा बेनी नगरपालिकाले अपुरो काम पूरा गर्न भन्दै ५० लाख बिनियोजन गरेपनि अलपत्र अवस्थामा रहेकोमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको महिला भलिबल खेल हुने भएपछि अहिले खेलमैदानको स्वरुप नै परिवर्तन गर्ने गरी एकसातादेखि धमाधम काम गरिएको छ ।

एउटा राष्ट्रिय प्रतियोगिताले कति‘फरक पार्दछ, निर्माणमा ..’ भन्ने उदाहरण बेनीको खेलमैदानमा देखिएको छ । जिल्लाबाट निर्वाचित भएका जनप्रतिनिधिले खेलमैदानको अवस्था देख्दादेख्दै पनि लामो समयसम्म मनमग्न रहेको अवस्थामा राष्ट्रिय खेलकुद हुने भएपछि मैदानको रुप नै परिवर्तनमा जनप्रतिनिधि, सरकारी निकाय र खेलकुद क्षेत्रमा संलग्नहरु लागेका छन् । बेनी नगरपालिकाका प्रबक्ता एवम् वडा न. ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले खेलमैदानमा आवश्यक पर्ने सबै संरचनाको मर्मत तथा छोटो समयमा बनाउन सकिने संरचना थप गर्ने योजना रहेको बताउनुभयो ।

कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको स्थान आसपासका क्षेत्रमा समेत वडा कार्यालयबाट अहिले अस्थायी संरचना बनाउने काम भइरहेको छ। म्याग्दी र कालीगण्डकी नदीले घेरेको खुल्लामञ्चलाई मिनी रंगशाला बनाउन विसं २०७४ मा करिब १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले एउटा राष्ट्रिय खेल जिल्लामा आउँदा पूर्वाधार तथा मर्मतमा जिल्लाभित्रका स्थानीय तहदेखि प्रदेश र केन्द्रको खेलकुदका क्षेत्रमा संलग्न टोलीको सक्रियताले उ्रत्साहित भएको बताउनुभयो । उहाँले लगातार राष्ट्रिय खेल मात्रै ल्याउन सकेमा पनि खेलमैदानलाई रंगशाला बनाउन सकिने बताउनुभयो ।

जिल्लामा हुने खेलका लागि जिल्ला समन्वय समिति, बेनी नगरपालिका, जिल्लाका अन्य गाउँपालिकले समेत आवश्यक बजेटमा सघाउने प्रतिबद्धता जनाएका छन भने हालसम्म करिब ५ लाख राष्ट्रिय खेलकुद मुल समितिले पठाएको छ । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलका लागि म्याग्दीले पाएको अवसरलाई दिनरात गरी सफल बनाउन श्रमदान गरिरहेको बताउनुभयो ।

असोज अन्तिम सातादेखि गण्डकी प्रदेशमा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबल र तेक्वान्दो प्रतियोगिता म्याग्दीको बेनीमा सञ्चालन हुँदैछ ।तेक्वान्दो प्रतियोगिता सदरमुकाम बेनी बजारमा रहेको जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा हुँदैछ । भलिबलमा सात प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ गरी १० टिम सहभागी हुने भलिबल प्रतियोगितालाई दुई पोलमा विभाजन गरेर लिग सिस्टममा खेलाइने छ ।

Leave a Reply