विदेशबाट फर्किएर गाउँमै रेन्बो ट्राउट माछापालन

0
1

म्याग्दीको मालिका गाउँपालिका-३डाँडागाउँ आसपासका क्षेत्रबाट बग्ने टिमुरेखोलामा चिसो र संग्लो पानी छ। बगीरहने संग्लो र सफा अनि चिसो पानीलाई सदुपयोग गदैं विदेशबाट फर्किएका तीन यूवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछा थालेका छन् ।

१० बर्ष कतार र मलेसिया विताएका पूर्णबहादुर रोका, बहराइनबाट फर्किएका तेजेन्द्र बुढा र कतारबाट २ बर्ष पसिना बगाएर गाउँ फर्केका हरिबहादुर रोकाले संयुक्त लगानीमा गरेको माछापालाको गरिएको हो ।

खोला नजिकै बनाइएको पोखरीमा ५ हजार माछाका भुरा हुर्किएपछि उत्साहित यूवाले थप पोखरी निर्माणमा जुटेका छन्। विदेशमा बगाएको पसिनाबाट सन्तुष्ट हुन नसकेपछि गाउँघरमै खेर गएको जमिनको सदुपयोग गर्ने गरी फर्किएर माछापालन सुरू गरेको हरिबहादुरले बताए।

‘माछाको अण्डा ल्याएर सुरु गरेका थियौ, अहिले निकै राम्रो भएपछि थप संरचना थप्दै छौ’ उनले भने। उनले दुधजस्तै संग्लो र सफा अनि चिसो पानी भएकाले उत्पादन राम्रो भएको बताए । खाडीमा बगाएको पसिनाभन्दा गाउँघरकै हावापानीमा ब्यवसाय गर्ने पहिलो प्रयास सफल भएपछि तीनैजना यूवा उत्साहित छन् ।

अहिले पोखरीमा २ सय ग्रामदेखि आधा केजीसम्मको माछा छ। सामान्य तालिम लिएर सुरू गरेको माछा पालनलाई थप ब्यवस्थित बनाउन यूटुव, विभिन्न जानकारीमुलक पुस्तकबाट समेत सिक्ने गरेको अर्का यूवा पूर्णबहादुृरले भने। माछा पालन सोचेजस्तो वा देखेजस्तो सजिलो भने छैन,‘दिनरात खट्नुपर्छ, उत्पादन गरेका माछाको बजार राम्रो छ’उनले भने ।

हावापानी पनि उपयुक्त भएको र उत्पादन भएको माछालाई पनि बिक्री वितरणमा समस्या नभएपछि २ बर्षभित्र १० वटा पोखरी, खोलाको छेउमै बसेर माछा विशेष परिकार खुवाउने गरी रेष्टुरेन्ट सञ्चालनको योजना समेत बनाएको ब्यवसायी तेजेन्द्रले बताए ।

उनले माछापालन, रेष्टुरेन्ट सहित अन्य कृषिजन्य उत्पादनको सोच समेत बनाएका छन् । हालसम्म ७ लाख लगानी भएको छ भने थप २० लाखको लगानी थप्ने योजना रहेको उनले बताए ।ट्राउट माछा लोकप्रीय र सबैको रोजाइ रहने माछा हो।

खानमा स्वादीलो, बीच बाहेक काँडा नहुने र प्रोटिन युक्त पोषिलो माछाका रुपमा ट्राउट लिने गरिएकाले गाउँघरका साथै दरबाङ र बेनीबजारमा समेत उच्च माग छ । यस क्षेत्रमा पहिलो पटक गरिएको परीक्षणमा रेन्बो ट्राउट जातका माछा पालन सफल भएपछि अन्य यूवाहरुलाई समेत ब्यवसायमा लाग्न सहज भएको छिमेकी बेली गाउँका यूवा संगम पुनमगरले बताए ।

यता भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीका प्रमुख जिवनप्रसाद आचार्यले चिसो र बहाव भएको पानीमा पालन गर्न सकिने रेन्बो ट्राउट माछालाई पालनका लागि सबैभन्दा राम्रो माछाको रुपमा लिने गरिएको बताए ।

उनले चिसो पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने भएकाले सम्भावना भएका क्षेत्रका यूवाहरुलाई तालिम दिने गरिएको बताए । रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ । यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, उक्त हावापानी खहरेखोला र बाह्ै महिना चिसो भएको क्षेत्रमा रहेको बताए । रेन्बो ट्राउट माछा प्रतिकेजी १२ सयमा पोखरीबाटै बिक्री हुन्छ ।