आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीबाट सर्वसम्मत उम्मेदवार सिफारिस हुनुभएका हरिकृष्ण श्रेष्ठले घरदैलो अभियान सुरु गर्नुभएको छ । नेपालीहरुको महान पर्व नवदुर्गाको सातौं अर्थात् आज फूलपातीको दिन पारेर उम्मेदवार श्रेष्ठसहितको टोलीले मतदाता भेटघाट कार्यक्रम सुरु गरेको हो ।

उम्मेदवारी दर्ता र मतदानको समय नजिकिँदै गर्दा जिल्लाको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरा गाउँबाट निर्वाचनलक्षित घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रम सुरु गरिएको जनाइएको छ । उम्मेदवार श्रेष्ठसहितको टोलीले घरदैलो अभियानको क्रममा मतदाताहरुलाई भेटेर विजयादशर्मी, शुभदिपावली, नेपाल सम्वत् र छठपर्वको शुभकामना दिएर आउँदो निर्वाचनमा एमालेको पक्षमा भोट मागिएको बताएको छ ।

मतदाता भेटघाटको क्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहनुभएका उम्मेदवार श्रेष्ठले म्याग्दी जिल्लामा एमाले र आफ्नो जित सुनिश्चित रहेको बताउँदै आफूलाई मत दिन मतदाताहरुलाई अनुरोध गर्नुभएको छ । उहाँले एमालेको नेतृत्वमा बनेका सरकारले देशको विकास निर्माणको साथै नेपाली जनताहरुको जीवनस्तरमा परिवर्तन ल्याउने गरी काम गरेको स्मरण गराउँदै आउँदो निर्वाचनबाट पनि एमालेलाई देश विकास र जनताको सेवामा समर्पित गर्ने अवसर दिन आग्रह गर्नुभयो ।

एमाले म्याग्दीबाट प्रतिनिधि सभामा सर्वसम्मत तथा एकल उम्मेदवार बन्न सफल हुनुभएका नेता श्रेष्ठले देशको नेतृत्व र विकासको क्षेत्रमा दीर्घकालीन काम एमालेले मात्रै गर्न सक्ने भन्दै एमाले र एमालेका उम्मेदवारको पक्षमा भोट हाल्नुको विकल्प नभएको बताउनुभयो । घरदैलो अभियान तथा मतदाता भेटघाट कार्यक्रममा एमाले म्याग्दीका उपसचिव तथा जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले यसअघि एमाले नेतृत्वले थालनी गरेका देश विकासको कामलाई पुरा गर्न पुनः एमालेलाई विजयी गराउन मतदातासमक्ष आग्रह गर्नुभएको छ । उहाँले आसन्न निर्वाचनबाट एमालेको नेतृत्वमा सरकार निर्माण भई देश विकासले गति लिने पनि बताउनुभयो ।

कार्यक्रममा एमाले जिल्ला सदस्य राजेन्द्रकुमार श्रेष्ठ, बेनी नगर कमिटी सचिवालय सदस्य भोजबहादुर रिजाल, बेनपा–७, बेनीका वडा कमिटी अध्यक्ष एवं वडा सदस्य रमेश फगामी, एमाले नेताहरु दिलकुमार श्रेष्ठ, प्रेम घिमिरेलगायत स्थानीय नेता तथा कार्यकर्ताहरुले घरदैलो अभियानमार्फत एमाले पार्टी र एमालेका उम्मेदवारको पक्षमा भोट मागेका छन् । एमाले म्याग्दीले प्रतिनिधि सभा सदस्यमा सर्वसम्मत उम्मेदवार चयन गरेको भए पनि प्रदेश सभातर्फ भने आकांक्षीहरु धेरै भएकाले नामावली सिफारिस गरेको छ ।

यता अहिलेको पाँचदलीय सत्ता गठबन्धनबाट पनि प्रतिनिधिसभा र प्रदेश सभामा आकांक्षी उम्मेदवारहरुको नामावली सिफारिस गरिएको छ भने सत्ता गठबन्धनले पनि उम्मेदवार टुङ्ग्याउन सकेको छैन । आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुमा आकांक्षी उम्मेदवारहरु धेरै भएकाले ठूला दल तथा नेताहरुहरुलाई उम्मेदवार चयनमा सकस परिरहेको छ ।

प्रतिनिधि सभातर्फ १ र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा गएको स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले चारवटा पालिकासहित २२ वटा वडामा विजयी हासिल गरेको छ । आसन्न निर्वाचनका लागि म्याग्दीमा कुल ८६ हजार १ सय २० जना मतदाताहरु रहेका छन् ।

Leave a Reply