कुरा गरे कुरा कै दुःख भनेजस्तै म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित मासु पसलले पटकपटकको सरकारी निकायको निर्देशनलाई बेवास्था गदैं मासु बिक्री गर्ने गरेका छन् । नेपालीहरुको घरआँगनमा भित्रिएको चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएपछि गरिएको अनुगमनमा बजारमा डेढदशकदेखि सञ्चालित मासु पसलको अवस्था नै भद्रगोल भेटिएको छ ।

उपभोक्तालाई स्वच्छ र स्वस्थ्य मासुको प्रत्याभूति गराउन नियामक निकाय निर्देशनले दर्जनौ पटक दिएको सुझावलाई ब्यापारीले ‘काग कराउदै जान्छ पिना सुक्दै जान्छ’ भन्ने उखान जस्तै सुधारका लागि कुनै पहल गरेका छैनन् । यसपटक सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माको नेतृत्वमा गरिएको अनुगमनमामा समेत सुधारका लागि अझै विभिन्न बहानामा बनाएर आनाकानी गरेका थिए ।

मासु काट्ने ठाउँमा ब्याक्टेरिया मार्न प्रयोग स्याफु प्रयोग गरिएको अवस्थामा भेटिएको छ । अनुगमन टोलीले मासु काट्ने ठाउँमा किटाणु मार्ने भन्दै प्रयोग गरिएको स्याफु्लाई विषजस्तै भएको भन्दै तत्काल हटाउन निर्देशन दिएका थिए ।

विगतका निर्देशन पालना बारेमा ब्यापारीलाई सचेत बनाउँदा भुकम्प, कोरोन भाइरसको संक्रमणका कारण लामो समयसम्म ब्यवसाय बन्द भएको र घरधनीले घर छोड्न ताकेता गरेको भन्दै ठाडै अवज्ञा गरिरहेका छन् । अनुगमनको क्रममा मासु खुल्ला रुपमा विक्री गर्दा रोग फैलाउने झिँगा समेत भेटिएको थियो ।

बेनीकै पूरानो लाला मासु पसल, चितवन फ्रेस हाउसले न्यूनतम मापदण्डको समेत पालना नगरेको पाइएपछि कारवाहीको चेतावनीसहित सुध्रिने वा पसल नै बन्द गर्ने दुई विकल्प दिइएको सहायक प्रजिअ शर्माले बताए । ‘अब बाहना बनाएर उम्किने प्रयास गरेमा सिधै कानुनी कारवाही गछौं,‘अटेरी पसललाई अव सिधै ताला लगाइन्छ’प्रजिअ शर्माले भने।मासु पसलको अनुगमनबाट झस्किएको बताउँदै सहायक प्रजिअ शर्माले बजारभित्र चाडपर्व नभई नियमित अनुगमनको आवश्यकता रहेको बताए ।

अनुगमनको क्रममा करिब १० भन्दा बढी मासुपसल मापदण्ड नपु¥याइकन सञ्चालन भएका पसल सञ्चालकलाई सुधार गर्न केही दिनको समय दिइएकोे छ । एक साताभित्र पनि मापदण्डअनुसारको पूर्वाधार निर्माण नगरे स्वतः पसल बन्द गरिने अनुगमन टोलीले चेतावनीले केही ब्यपाारी सचेत भएपनि धेरैले अझै अटेर गरेका छन् ।

चाडपर्वमा विषेश प्राथमिकताका साथ गरिएको मासु पसलमा प्रयाप्त सरसफाईको अभाव, आवश्यक सामान्य मापदण्डको समेत पालना नगरिएको र राँगा र भैसीको बधस्थल समेत अव्यवस्थित, मासु पसल फोहर, खिया लागेको हतियार,दर्ता नगरेकोले ढकतराजु मर्मत नगरी प्रयोग गरिएको पाईएको छ ।

त्यस्तै मासु पसलमा विक्री गर्ने व्यक्तिले एप्रोन, मास्क र टोपी नलगाउने गरेको, मासु विक्रीस्थलमा सिसाले पार्टेशन नगरेको र जालीवाला ढोका नराखेको समेत भेटिएको छ ।मास्क नलगाइ मासु काटेको बेला खोक्दा पनि व्याक्टेरिया मासुमा पर्ने सम्भावना रहेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रतिनिधिको भनाई छ ।

मासु पसल फोहोर रहेको तथा सरसफाइमा ध्यान नदिएको, पसलको भुइमा टायल नलगाएको र लामो समयसम्म मासु फ्रिजमा राख्ने नगरेकोे लगायतका कैफियत अनुगमनको क्रममा भेटिएको घरेलु तथा साना उद्योग कार्यालय प्रमुख पोषनाथ शर्माले बताए । उनका अनुसार किराना तथा खुद्रा, तरकारी, फलफुल, तथा होटल, रेष्टुरेण्टमा समेत धेरै सुधारको आवश्यकता रहेको बताए । यसैबीच हाँडेभिरमा रहेको बधस्थलमा समेत पशुचौपायाहरूको स्वास्थ्य परीक्षण बिनै बध गर्ने गरिएको भन्दै अनुगमन टोलीले तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

बधस्थलमा राँगो एउटा पनि नभेटिएको र करिब एकदर्जनभन्दा बढी भैसी मात्रै भेटिएकाले उपभोक्ता ठगिएको हुनसक्ने भन्दै अनुगमन टोलीको भनाई छ । सरकारी अधिकारीले नियमित अनुगमन भनेपनि उपभोक्ताले भने चाडपर्वमा फाटफुट अनुगमन हुने गरेपनि कहिल्यै कारवाहीको खवर सुन्न नपाइएको बताउँछन् ।

मासु पसलमा देखिएका यस्ता समस्या समान्य भनेर कारवाहीबाट पन्छिन नमिल्ने भएपनि सुधारका लाािग दिइएको समयलाई ब्यापारीले आफ्नो जीत मान्ने गरेकाले सुधारका संकेतहरु नै हराउने उपभोक्ताको भनाई छ । उपभोक्ताको स्वास्थमा प्रतिकुल असर पार्नेलाई कारवाही गरेमात्रै अन्य ब्यवसायी सुध्रिने उपभोक्ता अधिकारकर्मीको भनाई छ । पशु बधशाला र मासु जाँच ऐन अनुसार मासु पसल दर्ता नगरीकनै सञ्चालन गरेको पाइएमा २० हजार रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद गर्नसक्ने व्यवस्था रहेको छ ।

Leave a Reply