माछापुच्छ्रे बैंकले २० वर्ष पुराना कर्मचारीलाई सम्मान गर्‍यो, वार्षिकोत्सव पारेर छुटैछुटै

0
5

माछापुच्छ्रे बैंकले २० वर्षभन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ। बैंकले २३ औं वर्ष प्रवेशको अवसर पारेर कर्मचारीहरुलाई सम्मान गरेको हो। कार्यक्रममा बैंकका अध्यक्ष डा. वीरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, कर्मचारी एंव शुभचिन्तकप्रति कृतज्ञता ज्ञापन गरे।

उनले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। बैंक संचालक समितिका सदस्य रोशन केसीले बैंकका संस्थापक अध्यक्ष सुर्य बहादुर केसीको योगदानलाई स्मरण गरे।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले पनि बैंकलाई आजको स्थानमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहेको बताए।

उनले देशको आर्थिक विकासमा टेवा पुर्‍याउन बैंक निरन्तर लागिपर्ने प्रतिवद्धता समेत जनाए।कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले पनि आफ्नो धारणा राखेका थिए।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा बिभिन्न क्यास ब्याक तथा छुट अफर ल्याएको समेत जानकारी दिएको छ।अफर अन्तर्गत बैंकका ग्राहकले  फुडमाण्डुबाट बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २०% वा अधिकतम ३०० रुपैयाँ छुट पाउनेछन्।

यसैगरी एमबिएल एम स्मार्टमार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १०% वा अधिकतम १०० रुपैयाँ छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यस्तै एमबिएल एम स्मार्टमार्फत ९ असोज २०७९ देखि २० असोज २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म  २ घण्टाको अबधिमा २ सय २२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेकोमा २२% वा अधिकतम २२२ रुपैयाँसम्म छुट पाइनेछ।

दशमीका दिनसम्म सीजी डिजिटलमार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५ सय रुपैयाँ सम्मको क्यासब्याक पाइने बताइएको छ।

यसैगरी सेन्ट्रल बजारमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम एक हजार रुपैयाँसम्मको छुट र असोज १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२ सय २२ रुपैयाँसम्म छुट पाइने बताइएको छ।

बैंकले हाल  एकसय ६५ वटा शाखाहरु लगायत एकसय ७४ शाखा रहित बैंकिङ, १० वटा एक्स्टेन्सन काउण्टर  गरी  जम्मा तीनसय ४९ स्थानबाट बैंकिङ सेवा दिइरहेको जनाएको छ।बैंकका देशभर २०५ वटा एटीएमहरु छन्। bizmandu.com