बेनी नगरपालिका-८,संगमचोककी रेजिन्ता श्रेष्ठ पहिलोपटक खुल्लामञ्चमा पिङ खेलिन् । बाल्यकालमा बेनीबजार आसपासका क्षेत्रमा पुगेर पिङ खेल्ने गरेकी श्रेष्ठले सोमबार भगवती मन्दिरमा दर्शन गर्न गएको बेलामा बेनीमै पिङ खेल्न पाईन् । उनीजस्तै बेनी बैंकरोडका सुजन श्रेष्ठले करिब १२ बर्षपछि पिङ खेले ।

बाल्यकालमा पिङ खेलका सुजनले यसपटक खुल्लामञ्चमा पिङ हालेपछि खेल्न पाएको बताए । बजारभित्र पिङ नै देख्न नपाएका बालबालिकादेखि तन्नेरीहरू अहिले खुल्लामञ्चमा पिङमा रमाइरहेका छन् ।

‘बजारमा पिङ नै थिएन, गाउँघरमा जान सक्ने अवस्था छैन’ सुजनले भने । उनले पिङ हालेपछि मात्रै दशैं आएको महसुस हुने गरेको बताए ।लोप हुँदै गएको पिङको संरक्षणका लागि बेनी नगरपालिका वडा नं ७ ले सदरमुकाम बेनीबजारको खुल्लामञ्चमा करिब डेढ दशकपछि लिङ्गे पिङ हालेपछि बालबालिकामा उत्साहित भएका छन् ।

दशैँमा एक पटक पिङ खेलेर भुई छोड्नुपर्ने प्रचलनका बारेमा बालबालिकालाई जानकारी नै नभएको र यूवापुस्ताले समेत बिर्सन थालेपछि यसबर्षदेखि हरेक बर्ष नियमित पिङ हाल्ने वडा अध्यक्ष एवम् बेनी नगरपालिकाका प्रबक्ता रमेशकुमार श्रेष्ठले बताए ।‘दशैं र पिङको महत्वका बारेमा जानकारी गराउन पिङ हालिएको हो, अर्को बर्ष वडाभित्र दुईतिन ठाउँमा हाल्छौ’वडा अध्यक्ष श्रेष्ठले भने ।

लामो समयसम्म पिङ नहुदाँ बजार क्षेत्रमा जन्मिएका र हुर्किएका बालबालिकालाई पिङ अनि दशैंको महत्वका बारेमा समेत जानकारी नभएकाले खेल्न आउने जानकारहरुले जानकारी दिन अनुरोध गरिएको उनले बताए । वडा अध्यक्ष श्रेष्ठको पहलमा खत्री इलेक्टोनिक्सका सञ्चालक कृष्णबहादुर खत्री सहित खुल्लामञ्चमा रहेका यूवाहरुले समेत सहयोग गरेका थिए ।

विगतमा पिङ अनि दशैं एक अर्काका पर्यायवाची जस्तै मानिने गरेपनि अहिले सहरबजारमा हाल्नै छोडेको अवस्थामा गाउँमा समेत भेट्नै मुस्किल हुने गरेको खेल्न गएका हरिनायारण सुबेदीले बताए । उनले पुराना पुस्ताले बसाएको संस्कृति नयाँ पुस्ताले बिर्सँदै गएकाले यसबारे ज्ञान दिँदै आफ्नो संस्कृति, परम्पराप्रति लगाव जगाउनुपर्ने आवश्यकता रहेको भएपनि सहरबजारदेखि ग्रामिण क्षेत्रबाट समेत लगभग विस्थापित भइसकेको बताए ।

विगत २ वर्ष कोभिड–१९ संक्रमण र त्यसअगाडी ग्रामिण क्षेत्रमा यूवाजनशक्तीको अभाव, नयाँ पुस्तालाई रुची कमले समेत दशैंका बेला पिङ हाल्ने प्रचलन हराउँदै गरेको अवस्थामा स्थानीय तहका जनप्रतिनिधि सहित केही यूवाहरुको प्रयासमा भने अझै निरन्तरता पाइरहेको छ ।

दसैँमा एकपटक भूँइ छोड्नुपर्छ भन्ने मान्यता सहित नयाँ पुस्तालाई पुरानो चलनका बारेमा जानकारी गराउँदै पिङ हाल्ने र रमाउने चलनलाई निरन्तरता दिनुपर्ने बेनीका जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले बताए । पिङका लागि आवश्यक बाँस, काठ, लठोका लागि आवश्यक पर्ने साम्रागीको अभाव र जनशक्तीले समेत समस्या भइरहेको अवस्थामा अहिले लठो किन्न मिल्ने भएपछि यसपटक लठो बिक्री बढेको छ ।

Leave a Reply