नोट मैलो र फोहोर हुने नै मूख्य सिजन नै दशैं हो । हरेक बर्ष म्याग्दीमा करिव ५ करोडको हाराहारीमा जिल्लाभित्र नयाँ नोट भित्रिने गरेपनि यसबर्ष भने प्रयाप्त नयाँ नोट आएको छैन् । घण्टौ लाइनमा बसेर नोट लिनेहरूले दशैंको टीका लगाएपछि गच्छेअनुसार मान्यजनले दक्षिणा दिन्छन् । रातो टिका लगाउँदा नयाँ नोट पनि रंगिन्छन् । जनचेतनाको अभावका कारण पनि धेरै नोटहरू चाडपर्वमै काम नलाग्ने गरी बिग्रिने गरेका छन् ।

नेपाल सरकारले अरवौंको लगानी गरी छापिएका नोट जारी हुनासाथै काम नलाग्ने बन्ने गरेका छन् । दशैंमा टिका लगाउँदा र पुजाआजा गर्दा नोटमा अबिर, केसरीसहित रङहरु लागेको नोटको आयू लामो हुदैन् । यस्ता नोट राष्ट्र बैंक पुगेपछि पुनः त्यसलाई बजारमा पठाइँदैन । र, त्यसको सट्टामा नयाँ नोट छापिन्छ। अहिले डिजिटल कारोबारको संख्या ह्वात्तै बढेपनि नयाँ नोट सटहीको प्रचलन भने घटेको छैन् । नयाँ नोटका लागि अझैपनि लामो लाइनमा बस्ने गरेका दृष्यहरु देखिन्छन् ।

नोटको आयू लामो नहुनु भनेको नेपाली अर्थतन्त्रमा नै असर गर्नु पनि हो । नोट फोहोर, थोत्रो र मैलो हुने कारण मात्रै राज्यलाई वर्षमा ४० करोडको अतिरिक्त ब्ययभार थपिन्छ । दशैमा टीका लगाउने क्रममा नयाँ नोट दिने प्रचलन पुरानो हो ।दक्षिणाका रुपमा दिने पैसालाई टिका लगाएकै हातले समातेर दिँदा त्यसमा रङ लाग्छ।

यसरी रङ लागेको पैसालाई राष्ट्र बैंकले भने विभिन्न बैंकहरुको सहयोगमा खिचेर नष्ट गर्छ । र, फेरि नयाँ नोट छाप्छ । टीका लगाउने क्रममा नोटलाई खाममा राखेर दिँदा नोट सुरक्षित हुन सक्थ्यो । तर, पैसा देखाएर हातबाट हातमै दिने चलन ब्याप्त छ ।

नेपाल बैक म्याग्दी शाखाका प्रबन्धक मोहन लामिछानेले हरेकबर्ष बैंकमार्फत नोटलाई सुरक्षित गर्न अनुरोध गर्ने गरिएपनि प्रयोगकर्ताले चासो नदेखाएको बताउँछन् । फोहोर, रङ र तेल लागेको हातले नोटले नछुने हो र आकार अनुसार वालेट वा खाममा राखेर प्रयोग गर्ने हो भने नोटको आयू बढ्न सक्ने लामिाछानको तर्क छ ।

दशैका समयमा नयाँ नोट वितरण गर्नुभन्दा सुकिला नोटहरु नै प्रचलनमा राखेर त्यसको सुरक्षा र संरक्षणमा नागरिकलाई सचेत बनाउन आवश्यक देखिन्छ । दशैंमा नेपाल बैकमार्फत प्रति सर्वसाधारण नयाँ नोट ५, १०, २०, ५० रुपैयाँ दरका नयाँसटही सुविधा दिँदै आएको छ ।नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएकाले नोट सुरक्षामा जनताले ध्यान दिए राज्यको करोडौं रकम बच्ने देखिन्छ ।

Leave a Reply