म्याग्दीको मंगला गाउँपालिका-२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसको अक्षयकोष अभियानमा अन्नपूर्ण गाउँपालिकाका निर्वतमान अध्यक्ष डमबहादुर पुनले डेढ लाख सहयोग गर्नुभएको छ ।

क्याम्पसको आर्थिक संकट समाधान गदैं अन्तराष्ट्रियस्तरको गुणस्तर प्रमाणपत्र प्राप्ती, प्राविधिक धारका विषय सञ्चालन सहितको अभियानका लागि खडा गरिएको कोषमा घोरेपानीका पर्यटन ब्यवसायी समेत रहनुभएका पुनले उक्त सहयोग गर्नुभएको हो ।

सोमबार सहयोगदाता पुनले अन्नपूर्ण गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापा, पूर्वाधार आर्थिक सङ्कलन समितिकी अध्यक्ष यशुदा रोका,निमित्त क्याम्पस प्रमुख बल बहादुर कार्की र क्यूएए फोकल पर्सन रुद्ध केसीको उपस्थितीमा सहयोग हस्तान्तरण गदैं भविस्यमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

‘तपाईको यो सहयोगबाट क्याम्पसको अभियानलाई ठूलो बल पुगेको छ,‘हामीले सबै क्षेत्रबाट सहयोग जुटाएर नमुना क्याम्पस बनाउने अभियानमा छौ’गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष थापा र आर्थिक पूर्वाधार समितिकी अध्यक्ष रोकाले २ करोड आर्थिक संकलन गरी अक्षय कोष बनाउने अभियानमा स्वदेश तथा विदेशबाट सहयोग संकलन अभियान जारी रहेको बताउनुभएको थियो ।

यसअघि मंगला शिक्षा क्याम्पसको भवन निर्माणका लागि जग्गा खरिद गर्न स्वदेश तथा विदेशबाट गरी झण्डै साढे ८७ लाख रुपैयाँ आर्थिक सङ्कलन गरिएको थियो ।सङ्कलित रकमबाट बाबियाचौरको लाम्पाटामा साढे ३३ रोपनी जग्गा खरिद गरी क्याम्पसको भवन निर्माण गरिएको छ।

क्याम्पसमा स्थानीय, प्रदेश र संघीय सरकारबाट समेत बजेट विनियोजन भएकाले पूर्वाधार विस्तारले समेत तिब्रता पाएको छ । क्याम्पसमा हाल २ सय बढी विद्यार्थी अध्ययनरत छन् । क्याम्पसको सर्वाङ्गीण विकासका लागि विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र प्राप्तीका लागि समेत अहिले धमाधम काम भइरहेको छ ।

Leave a Reply