म्याग्दीको धवलागिरी गाउँपालिका- ७ स्थित ऐतिहासिक ताकमकोतमा भएको छेलो फाल्ने प्रतियोगितामा ,छिमेकी मालिका गाउँपालिका–१ निस्कोटका याम परियार विजयी भएका छन्। आठ दशमलव पाँच किलोग्राम तौल फलामको छेलोलाई सहभागी मध्य सबैभन्दा टाढा फालेका ३९ वर्षीय यामलाई आयोजकले पहलमान घोषणा गरेका थिए।

प्रतियोगितामा सहभागी ३३ जनामध्ये यामले सबैभन्दा टाढा छेलो फालेर बिजय भएको त्यहाँबाट कृष्णराज पौडेलले जानकारी दिए । विजेता यामलाई गाउँपालिका अध्यक्ष प्रेम पुनले नगद ५ हजार र फेता गुटाएर सम्मान गरेका थिए । विजेता याम पश्चिम म्याग्दीमा छेलो प्रतियोगितामा धेरै उपाधी जित्नेमा पर्छ ।

सोही अवसरमा मन्दिर आसपासका क्षेत्रमा समेत विजय यामलाई बाजागाजा सहित घुमाइएको थियो । गतबर्ष समेत यामले उक्त प्रतिस्पर्धामा उपाधी जितेका थिए । म्याग्दीको महत्वपूर्ण शक्तिपिठ मानिने ताकमकोतको छेलो प्रतियोगितामा विजयी हुनेलाई सो क्षेत्रमा पहलमान मान्ने गरिन्छ। हरेक वर्ष महानवमी पर्वको अवसरमा छेलो फाल्ने प्रतियोगिता आयोजना गरेर पहलमान पहिचान गर्ने चलन रहेको छ।

निरन्तरको अभ्यास, शारिरिक व्यायाम र स्वच्छ खानपानले उपाधी जितेको बताउने यामले आगामी बर्षहरुमा समेत सहभागिता जनाउने प्रतिबद्धता जनाए । वि.स. २०७० देखि ७६ सम्म ७ वटा उपाधी जितेका ताकमका अशोक केसी अहिले वडा अध्यक्ष तथा मन्दिर ब्यवस्थापन समितिमा छन् । उनले विगत एकबर्षदेखि प्रतियोगितामा सहभागिता जनाएका छैनन् ।

म्याग्दीको प्रमुख शक्तिपिठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गा लगायत देवी देवताको मुर्ती रहेका यहाँ नवदुर्गा, जेष्ठी पुर्णीमा, मंसिर पुर्णीमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ। वि.स १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमासमेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाल लगायतका हातहतियार छन्। जगन्नाथ अन्नपूर्ण मन्दिरमा पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने विश्वास छ।

Leave a Reply