A view of Dhaulagiri mountain is seen in the background of Ghorepani village, a tourist destination in Annapurna Rural Municipality-6 of Myagdi district, on Friday, October 27, 2017. Photo: RSS

म्याग्दी – कहीँ कतै भिरालो, कतै खोल्साखोल्सी । अलिकति सम्म परेको फाँट । पाहुनाको स्वागतमा कार्पेट बिच्छ्याएजस्तै भुइँमा ढकमक्क फुलेका वनफूल र बुकीफूल । समुद्री सतहदेखि दुई हजार आठ सय ७४ मिटरको उचाइमा पुगेर रमाउन पाउँदा मन त्यसै आनन्दित हुन्छ ।

बर्खाको समयमा परिर्वतन भइरहने मौसम । कञ्चन निलो आकाशमुनि आँखाले भ्याएसम्म हेर्न सकिने वनजङ्गल, डाँडापाखासहितको हरियाली दृश्य । छिन–छिनमा जिस्किँदै लुकामारी खेलिरहने भुइँ कुहिरो अनि अनायासै स्पर्श गर्ने चिसो सिरेटो र भिज्याइहाल्ने सिमसिमे पानी । कहिलेकाहीँ गुञ्जिने लोपोन्मुख यानीमाया भाका ।

यी सबै कुरालाई सम्झिँदा हामी कतै काल्पनिक दुनियाँमा त रमाइरहेका छैनौँ भन्ने लाग्छ । शब्दमा जति बयान गरे पनि पुग्दैन घोरेपानीको बारेमा । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पर्ने पर्यटकीय स्थल घोरेपानी सुन्दर, मनमोहक र आकर्षक छ । यति बेला घोरेपानीको वनजङ्गलमा ढकमक्क वनफूल र बुकीफूल फुलिरहेको छ भने तिनै फुल अहिले पर्यटकलाई स्वागत गर्न पर्खिरहेका छन् ।

मगर समुदायको बाक्लो बस्ती रहेको घोरेपानीमा उनीहरूको कला, संस्कृति र भेषभुषाको अध्ययन गर्न पाइन्छ । वनमा उम्रने च्याउ, ढकायो, लेकाली क्षेत्रमा उत्पादन हुने आलुको परिकारसहित स्थानीय लोकल खानाको स्वाद चाख्न पाइनुका साथै तरेली परेका पहाडको सुन्दरता अवलोकन गर्न पाउनु घोरेपानीको थप विशेषता हो । पुस, माघमा पर्ने हिउँ अनि चैतदेखि जेठसम्म यहाँको वनजङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई खुब लोभ्याउँछ । एक पटक पुगेको जो कोही पनि पटक–पटक यहाँ जाने गर्दछन् । यहाँ जुनुसुकै समयमा गएर रमाउन सकिन्छ ।

राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने घोरेपानीमा बर्सेनि ठूलो सङ्ख्यामा स्वदेशी र विदेशी पर्यटक पुग्ने गरेका छन् । पछिल्लो दुई वर्ष कोरोना भाइरस सङ्क्रमणको जोखिम तथा लकडाउनका कारण पर्यटक आगमन घटेको भए पनि अहिले पुनः घोरेपानीमा दैनिकजसो विदेशी ६० जना र स्वदेशी पर्यटकहरु ३० देखि ४० जनाको हाराहारीमा आउने गरेका इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । पछिल्लो पटक मौसम प्रतिकूलताको बाबजुद पनि स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको प्रहरी हवलदार बमबहादुर थापाले बताउनुभयो । घोरेपानी भ्रमणका लागि त्यहाँसम्म पुग्ने सडक र पदमार्ग बनाइएको छ ।

म्याग्दी भ्रमण गर्न आउने धेरैजसो पर्यटक पुनहिल र घोरेपानी पुग्छन् । बर्सेनि यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्दै जान थालेपछि घोरेपानीमा मात्रै अहिले २२ वटा साना तथा ठूला होटल सञ्चालनमा छन् । घोरेपानी भ्रमणमा जाने स्वदेशी र विदेशी पर्यटकलाई खाना र बासको छुट्टाछुट्टै दर निर्धारण गरिएको छ । स्वदेशी पर्यटकलाई प्याकेजमा खाने र बस्ने व्यवस्थासमेत रहेको छ ।

कार्यक्रमको सिलसिलामा घोरेपानीको भ्रमण गर्न पाउँदा आफूलाई निकै खुसी महसुस भएको स्वदेशी पर्यटक सुष्मा पौडेलले अनुभव सुनाउनुभयो । कास्कीको नयाँपुल–विरेठाँटी–हिले–तिखेढुङ्गा–उल्लेरी–वनठाँटी–नाङ्गेठाँटी र म्याग्दीको सदरमुकाम बेनीबाट बेनी–जोमसोम सडक मार्ग हुँदै पोखरेबगर–घार–चित्रे भएर घोरेपानी पुग्न सकिन्छ ।

Leave a Reply