---Advertisement---

राजमार्गबाहेक सडक सम्पर्कबाट विच्छेद भयो बागलुङ

On: October 6, 2022 12:20 PM
Follow Us:

अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध भएका छन्।

तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ।

पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवरूद्ध भएको हो।

कतिपय स्थानका सडक भासिएको छ।

राष्ट्रिय गौरवकै आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ, गलकोट, बुर्तिबाङ सडक पनि अवरूद्ध छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार सडकको ठाउँठाउँमा पहिरो खसेको छ। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरूद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेको जैमिनी नगरपालिका–३ का बेद छन्त्यालले बताए।

दसैंका टीका लगाउन आफन्तकोमा जानेहरू अवरूद्ध सडकका कारण समस्यामा परेका छन्। सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारण पैदलयात्रा गर्दै टीका लगाउन जान थालेका छन्।

जिल्लामा सबै ग्रामीण सडक अवरूद्ध भएकाले पोखरा बागलुङ राजमार्गसँग बाहेक बागलुङ सडक सम्पर्कबाट विच्छेद भएको छ।

स्थानीय सडक अवरूद्ध हुँदा किसानले तरकारी, दूधलगायत उत्पादन बजार पुर्‍याउन नपाएको गुनासो गरे।