एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो। कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे। जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो।

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ। गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन्। गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रूपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्।

अहिले स्थानीय रूपलाल बुढा मगरले कटुवालको काम गरिरहेका छन्। गाउँलेहरूबाट आफूले यो जिम्मेवारी पाएको पाँच वर्ष भएको रूपलालको भनाइ छ।

चार वर्षमा कटुवाल फेर्ने गाउँलेको नीति भए पनि रूपलाल फेरि दोहोरिएका हुन्। उनको काम चर्को स्वरमा कुर्लिएर (हाँको हाल्ने) सूचना प्रवाह गर्ने हो। रूपलालले गाउँमा पूजाआजा, झारा, मेला महोत्सव तथा अन्य सार्वजनिक कार्यक्रमहरू हुँदा गाउँलेलाई सूचना पुर्‍याउने काम गर्दै आएको बताए।

गाउँलेलाई कुनै पनि सार्वजनिक चासो, सरोकारका कार्यक्रमहरूको सूचना दिन अग्लो स्थानमा गएर हाँको हालेपछि गाउँलेहरू सोही सूचनाको आधारमा कार्यक्रम, बैठक, सभाहरूमा सहभागी हुने गरेको उनको भनाइ छ।

‘यो चलन त परम्परादेखि चल्दै आएको हो। गाउँलेले हटाउन सकेका छैनन्। मेरो काम गाउँमा केही कार्यक्रम भयो भने सूचना दिने हो,’ रूपलालले भने।

उनले तमान गाउँमा तीन सय ७४ घरधुरीका नागरिकलाई सूचना दिँदै आएको बताए। सबै घरका नागरिकलाई एकै ठाउँबाट हाँको हालेर सूचना पुर्‍याउन नसक्ने हुँदा गाउँको देउराली डाँडा, किरी, हिले लगायतका ठाउँमा पुगेर सूचना दिने गरेको उनी बताउँछन्।

‘गाउँ ठूलो छ, एक ठाउँबाट कुर्लिएर सबैले सूचना पाउन सक्दैनन्। सूचना पाएनन् भने फेरि कार्यक्रममा जाँदैनन्। उनीहरूले सूचना नपाएपछि मलाई कारबाही हुन्छ,’ रूपलालले भने, ‘त्यही भएर गाउँको देउराली डाँडा, किरी, हिले डाँडामा गएर हाँको हाल्छु। गाउँलाई सूचना दिनु राम्रो काम हो सूचना प्रवाहको भरपर्दो माध्यम बन्न पाएकोमा खुसी छु।’

तमान गाउँमा कटुवाल मात्रै होइन, मुखिया प्रथा पनि कायमै छ। अहिले गाउँमा एक जना मुखिया छन्। गाउँलेले स्थानीय ललित घर्ती मगरलाई मुखिया बनाएका छन्। मुखियाले दिएको आदेशअनुसार रूपलालले गाउँलेलाई सूचना दिने काम गर्छन्। मुखिया मातहत नै कटुवालले काम गर्नुपर्ने स्थानीयको नियम छ।

कटुवालले वर्षभरि सूचना प्रवाह गरेबापत एक घरबाट दुई सय रूपैयाँ पाउँछन्। तीन सय ७४ घरधुरी रहेको तमान गाउँबाट रूपलालले हरेक वर्ष ७४ हजार आठ सय रूपैयाँ कमाउने गरेको बताए। दैनिक सूचना प्रवाह गर्न नपर्ने हुँदा अरू कामसमेत गर्न सकिने उनको भनाइ छ।

‘कटुवाल काम गर्न धेरै कठिन छैन। यो काम सधैं पनि हुँदैन। बेला मौकामा मात्रै हो। अरू समयमा घरबारीको काम पनि गर्छु। जनताको सेवाका रूपमा लिएको छु मैले यो कामलाई,’ उनले भने, ‘गाउँमा हाँको हाल्ने काम त बाजे बराजुदेखि नै हुँदै आएको हो। मैले सुरू गरेको होइन।’

स्थानीय कृष्ण बुढाथोकी परम्परादेखि चल्दै आएका चलनलाई निरन्तरता दिनुपर्ने बताउँछन्। यस्ता परम्परा मौलिक संस्कृतिसँग जोडिएको भन्दै आधुनिकताले निकै ठूलो प्रभाव पारेको उनले बताए।

मुखियालाई पनि मान्छन् गाउँले

तमान गाउँमा मुखिया प्रथा कायमै छ। अहिले तमान गाउँका मुखिया ३५ वर्षीय ललित घर्ती मगर हुन्। उनले तमान गाउँका तीन सय ७४ घरधुरीलाई नेतृत्व प्रदान गरिरहेका छन्। गाउँमा हुने विवाद मिलाउने, गाउँलाई व्यवस्थित र व्यवस्थापनको काम ललितले गर्छन्।

मुखियाको काम र भूमिकाका हिसाबले अहिलेका जनप्रतिनिधि जस्तै भए पनि आफूले कुनै पनि सेवा सुविधा नपाउने उनको भनाइ छ। परम्परादेखि यो प्रथा चल्दै आएको र आफूहरूले यसलाई निरन्तरता दिएको भन्दै आफूको कार्यकालसमेत सकिन थालेको ललितले बताए। आफ्नो कार्याकाल चार वर्षको हुने उनको भनाइ छ।

‘गाउँमा जति पनि चलन छन्, त्यो सबै हाम्रा पाका पुर्खाहरूदेखि नै चल्दै आएका हुन्। हामीले त्यसको निरन्तरता दिएका हौं। गाउँमा हुने विशेष कामहरू, पूजाआजा, कार्यक्रमबारे सबैलाई खबर गर्ने, वन थुन्दा, फुकाउँदा कुनै मिति तोकेर मात्रै त्यो काम गर्छौं,’ मुखिया ललितले भने, ‘मुखियाले गाउँको नेतृत्व गर्ने हो। अहिलेको वडा अध्यक्ष जस्तै हो। तर मुखियाले कुनै पनि सेवा सुविधा लिँदैनन्। समाज सेवा नै हो।’

ललितभन्दा अगाडि तमान गाउँको मुखिया जितेन्द्र रोका थिए। जितेन्द्रको मृत्यु भएपछि ललित मुखियामा चुनिएका हुन्। अहिले उनले दुई कार्यकाल चलाउँदै छन्। पछिल्लो समय जननिर्वाचित प्रतिनिधि पनि जनताको सेवामा आएकाले आफूले गाउँपालिका र वडासँग समन्वय गरेरै काम गर्दै आएको उनको भनाइ छ।

स्थानीय सरकार नआउँदा गाउँका सबै काम मुखियाले गर्ने गरे पनि जनप्रतिनिधि आएपछि सहकार्य समन्वय गरेर काम गरेको उनले बताए।

‘स्थानीय सरकार नआउँदा गाउँको काम सबै मुखियाले गर्थ्यो, गर्नुपर्थ्यो। अहिले जनप्रतिनिधि आएपछि उहाँहरूसँग सहकार्य गरेर काम गर्छौं। उहाँहरूलाई पनि सहज, हामीलाई पनि सहज भएको छ। जसरी पनि समाज परिवर्तन गर्ने हो,’ उनले भने।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गाउँमा अहिले पनि पुराना प्रथाहरू कायम रहनुले परम्पराको संरक्षण भएको बताए। मुखिया र कटुवाल दुवै प्रथा समाज परिवर्तनका लागि चल्दै आएको हुँदा अहिले जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्दा सहज भएको उनी बताउँछन्।

‘परम्परादेखि नै आएका यस्ता चलनले हामीलाई सहज भएको छ। मुखियाले जनप्रतिनिधिले गर्ने काममा हस्तक्षेप गर्दैनन्। हामीले गर्ने कतिपय काम उहाँहरूले गर्दै आउनुभएको थियो। अहिले हामीसँग सहकार्य गरेर काम गर्नुहुन्छ। यसले गाउँलेको सेवा पनि भएको छ। परम्पराको संरक्षण पनि,’ उनले भने।

(रासस)

Leave a Reply