म्याग्दी प्रवासी नेपाली संघ मोना कतारले दशैमा सामुहिक टीका लगाएको छ । विजयादशमीको दिन मासिक बैठकको समेत अवसर पारि सामुहिक रुपमा टीका लगाएर दसैँ मनाईएको हो । लजिस्टिक भिलेज सनैयामा आयोजित कार्यक्रममा मोना कतारका ज्येष्ठ सदस्य तुल प्रसाद कँडेलको हातबाट टीका तथा आशिर्वाद ग्रहण गरिएको थियो ।
कँडेलले मोना कतारका संस्थापक अध्यक्ष तथा संरक्षक प्रेम रसाईली र बर्तमान कार्यसमितिका अध्यक्ष नरेन्द्र फगामीलाई टीका लगाएर सामुहिक टीका कार्यक्रमको सुरु गर्नुभएको थियो । कार्यक्रममा उपस्थित करिव ६० जनाले एकले अर्कोलाई टीका र जमरा लगाउँदै दसै पर्व प्रवासमा पनि उल्लासका साथ मनाईएको मोना कतारका अध्यक्ष फगामीले बताउनुभयो ।
परिवारदेखि टाढा रहेका म्याग्देलीहरुलाई घरकै झल्कोदिने गरि संस्थागत रुपमा दसैँ टीका कार्यक्रमको आयोजना गरिएको हो, अध्यक्ष फगामीले भन्नुभयो, “ऐतिहासिक कार्यक्रम सफल भएको छ, यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिनेछौँ” ।
कार्यक्रममा मोना कतारका संरक्षक रसाईली, ज्येष्ठ सदस्य कँडेल, संरक्षक रमेश पौडेल, विक्रम कार्की, सल्लाहकार मिन बहादुर कार्कीले दसैंको अवसरमा मोना कतारले सामुहिक टीका लगाउने कार्यक्रमको आयोजना गरेर प्रशंसनीय कार्य गरेको भन्दै उपस्थित सवैलाई शुभकामना प्रकट गर्नुभएको थियो ।
प्रवासमा रहेर पनि आफ्नो महान पर्व दसैँ सामुहिक रुपमा टीका र जमरा ग्रहण गर्दै धुमधामका साथ मनाउन पाउँदा सहभागीहरु खुसी भएका थिए । कार्यक्रममा दसैँ टीका ग्रहण गर्न आएका नौमति बाजा समुहलाई सम्मान गर्दै नाँचगान गरिएको थियो । पन्चेबाजामा गाउदै र नाच्दै खुसियालीका साथ दसैँ मनाईएको मोना कतारका सांस्कृतिक संयोजक दर्शन केसीले बताउनुभयो ।
औपचारिक कार्यक्रम मोना कतारका अध्यक्ष फगामीको अध्यक्षता, संस्थापक अध्यक्ष एवम् संरक्षक रसाईलीको प्रमुख आतिथ्यता, वरिष्ठ उपाध्यक्ष राजु पौडेलको स्वागत र महासचिव अजय कुँवरको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply