गएको मङ्गलवारदेखि परिरहेको पानीसँगै मुस्ताङमा पनि पहिरो गएको छ । मुस्ताङको घोप्टेभीर, मार्फा, कागबेनी, पाण्डाखोला, छुसाङलगायत क्षेत्रमा आएको बाढी, पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएको छ ।

अविरल वर्षाका कारण सडकभन्दा माथिबाट ठूल्ठूला ढुङ्गा, लेदो माटो र गेगरसहितको बाढी आएपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । वर्षा र बाढी पहिरोकै कारण सडक ठप्प हुनुका साथै हवाई उडान बन्द भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो ।

प्रजिअ शर्माले मुस्ताङको मार्फाको फाराम खोलामा आएको बाढीले शीतोष्ण बागवानी विकास केन्द्र आसपासको क्षेत्रमा बाढी पसेर समस्या भएको बताउनुभयो । उहाँले बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रतिनिधि र कामदार दशैँ मनाउन बिदामा गएकाले मेशिन प्रयोग गरेर फाराम खोलाको बाढी तर्काउने काम गरिए पनि मेशिन सानो भएकाले समस्या भएको जानकारी दिनुभयो ।

यसैबीच चार दिनदेखिको प्रतिकूल मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाई उडानसमेत नहुँदा पर्यटक समस्यामा परेका छन् । खराब मौसमले गर्दा हवाई उडान नहुँदा मुस्ताङ भ्रमणमा रहेका नेपाली तथा विदेशी पर्यटक, पदयात्री, साइकालयात्री मुस्ताङमै रोकिएका प्रजिअ शर्माको भनाइ छ । बेनी–जोमसोम सडक खण्डको ठाउँ–ठाउँमा पहिरो खसेर सडक बन्द भएपछि मुस्ताङमा रहेका पर्यटकलाई जोखिमपूर्ण यात्रा नगर्न र सुरक्षित रहन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको बैंसरी, नैनीबगर र रुप्से खोलामा सडकभन्दा माथिबाट पहिरो खसेर सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिनुभयो । यसैगरी पश्चिम म्याग्दी भेग भएर जलजला–ढोरपाटन हुँदै रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्डको घुमाउनेभीर र बाङ्गेपहिरो भन्ने ठाउँमा पनि पहिरो खसेर सडक बन्द भएको छ । वर्षाले म्याग्दीका ग्रामीण क्षेत्रका सडकहरू पनि हिलाम्मे हुनुका साथै अस्तव्यस्त बनेका छन् ।

त्यस्तै अविरल वर्षासँगै म्याग्दीको पर्यटकीय क्षेत्र खोप्रालेक, गूर्जाखानीलगायत उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । मुस्ताङको मुक्तिनाथको डाँडाकाँडासहित धौलागिरि र निलगिरि रेन्ज तथा चौरीखर्क क्षेत्रमा हिउँ परिरहेको मुस्ताङ प्रहरीले जनाएको छ । भारी वर्षासँगै हिमपात भएपछि मुस्ताङमा चिसो महसुस गरिएको छ । सडक बन्द हुँदा मुस्ताङको स्याउ, आलुलगायत कृषिजन्य उत्पादनहरू ढुवानी हुन पाएको छैन ।

अविरल वर्षाको बाबजुुद पनि म्याग्दी र मुस्ताङको पर्यटकीय क्षेत्रमा पर्यटक भने पुगेका छन् । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दी जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिल क्षेत्रमा अहिले दैनिक एक सय जनाको हाराहारीमा विदेशी पर्यटक भ्रमणमा आएका इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ ।

Leave a Reply