१ लाख पुरस्कारको मोना भलिबल कपको आइतबारसम्म टिम दर्ता गर्नुपर्ने

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले आठौं बार्षिक साधारणसभाको अवसरमा आयोजित सर्वाधिक धनराशीको पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तय गरिएको साधारणसभाको अवसरमा असोज २४ र २५ गते हुने प्रतियोगिताका लागि म्याग्दीका ६ वटै पालिकाको पुरुष तथा महिला समुहले असोज २३ अर्थात भोली आइतबारसम्म सदरमुकाम बेनीमा रहेको मोनाको सचिवालयमा टिम दर्ता गर्नुपर्ने मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् खेलकुद संयोजक जंगबहादुर पुनले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी सहित जिल्लाभित्रका स्थानीय तहबाट आवश्यक पर्ने कागजता समेत उपलब्ध हुनेपर्नेछ । प्रतियोगितामा क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलमा सहभागी भएका वा खेलाडीहरुले खेल्न नपाउने बताइएको छ । म्याग्दीका स्थानीय तह बाहेक अन्य जिल्लाका खेलाडीहरु सहभागी बनाउन नपाइने भएकाले नियम अनुसार टिम दर्ता गर्न समेत मोनाले अपिल गरेको छ ।

पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष तथा महिलामा प्रथम हुनेलाई समान १ लाख रुपैयाँ , द्धितियलाई ५० हजार रुपैयाँ, तृतीयलाई नगद २५ हजार रुपैयाँ र सान्त्वनालाई नगद १५ हजार रुपैयाँ पुरस्कार र उत्कृष्ट खेलाडीलाई २५ हजार नगद, मेडल र ट्रफी पुरस्कार प्रदान गरिने छ । मोनाको साधारणसभाको तयारी तिब्र पारिएको छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ ।

कार्यक्रममा ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइएको मोनाले जनाएको छ ।
मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताए । मोनाको विश्वभर २८ देशमा राष्ट्रिय कार्यकारी समिति, ५ वटा क्षेत्रीय समिति रहेका छन् । ताकम धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा परिचित छ भने ऐतिहासिक ताकमकोतको कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

Previous articleम्याग्दीका अनीस पौडेल न्युजिल्यान्डको टिपुकेमा कम्यूनिटी बोर्ड सदस्यमा निर्वाचित
Next articleदुई दशकदेखि बालगृहका बालबालिकासँगै दशैं मनाउँदै