म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिले आठौं बार्षिक साधारणसभाको अवसरमा आयोजित सर्वाधिक धनराशीको पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा तय गरिएको साधारणसभाको अवसरमा असोज २४ र २५ गते हुने प्रतियोगिताका लागि म्याग्दीका ६ वटै पालिकाको पुरुष तथा महिला समुहले असोज २३ अर्थात भोली आइतबारसम्म सदरमुकाम बेनीमा रहेको मोनाको सचिवालयमा टिम दर्ता गर्नुपर्ने मोना अन्तराष्ट्रियका उपाध्यक्ष एवम् खेलकुद संयोजक जंगबहादुर पुनले बताए ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडी सहित जिल्लाभित्रका स्थानीय तहबाट आवश्यक पर्ने कागजता समेत उपलब्ध हुनेपर्नेछ । प्रतियोगितामा क्षेत्रीय तथा राष्ट्रियस्तरका खेलमा सहभागी भएका वा खेलाडीहरुले खेल्न नपाउने बताइएको छ । म्याग्दीका स्थानीय तह बाहेक अन्य जिल्लाका खेलाडीहरु सहभागी बनाउन नपाइने भएकाले नियम अनुसार टिम दर्ता गर्न समेत मोनाले अपिल गरेको छ ।

पालिकास्तरीय भलिबल प्रतियोगितामा पुरुष तथा महिलामा प्रथम हुनेलाई समान १ लाख रुपैयाँ , द्धितियलाई ५० हजार रुपैयाँ, तृतीयलाई नगद २५ हजार रुपैयाँ र सान्त्वनालाई नगद १५ हजार रुपैयाँ पुरस्कार र उत्कृष्ट खेलाडीलाई २५ हजार नगद, मेडल र ट्रफी पुरस्कार प्रदान गरिने छ । मोनाको साधारणसभाको तयारी तिब्र पारिएको छ । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ ।

कार्यक्रममा ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइएको मोनाले जनाएको छ ।
मोनाका अध्यक्ष अम्मर छन्त्यालले साधारणसभाले धवलागिरी गाउँपालिका भित्रका सम्भावनायुक्त क्षेत्रको पहिचान तथा कृषि, पर्यटन र धार्मिक क्षेत्रहरुको प्रचारप्रसारमा समेत सघाउने बताए । मोनाको विश्वभर २८ देशमा राष्ट्रिय कार्यकारी समिति, ५ वटा क्षेत्रीय समिति रहेका छन् । ताकम धौलागिरि पदमार्गको पर्यटकीय गाउँको रुपमा परिचित छ भने ऐतिहासिक ताकमकोतको कारण पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

Leave a Reply