आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको आज उम्मेदवारी दर्ता गर्न २५ जनाभन्दा बढीको सहभागिता हुन नपाइनेसहित बाजागाजा, झाँकी लैजान गरिएको निषेध गरिएको छ । निर्वाचन सम्बन्धि आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएका राजनीतिक दल, उम्मेदवारले यसपटक घरदैलो अभियानमा समेत जान नपाउने भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिमा आयोजना गरेको प्रचारप्रसार कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय म्याग्दीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचन आचारसंहिताको विषयमा आफ्नो प्रस्तुतीकरणसहित सहजीकरण गरेका थिए । निर्वाचन अधिकृत घिमिरेले निर्वाचनमा प्रचारप्रसारका क्रममा बढीमा १० वटा झन्डा प्रयोग गर्न पाइने,मतदानको १७ दिन अघिदेखि मात्र प्रचारप्रसार गर्न पाइने, उम्मेदवारले सम्पत्ति विवरण र वैयक्तिक विवरण ९बायोडाटा० फाराम बुझाउनुपर्ने लगायत अन्य आचारंसहितलाई पालना नगरे जरिवाना सहितको कानुनी प्रक्रियामा जाने चेतावनी दिएका थिए ।

निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार आसन्न निर्वाचनमा हिमाली जिल्ला म्याग्दीको प्रतिनिधि सभा सदस्य पदमा उठ्ने उम्मेदवारले बढीमा ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था रहेको छ । यसैगरी प्रदेश सभा (क) र (ख)मा क्रमशः उम्मेदवारले २१ लाख र २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

आज असोज २३ गते उम्मेदवारी दर्ता गर्ने र २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदान हुनुभन्दा १७ दिन अगाडिबाट मात्रै निर्वाचन प्रचारप्रसारको कार्यक्रम लिएर गाउँ जान पाउने गरेको व्यवस्थाप्रति दलहरुले आपत्ति जनाएका हुन् । उक्त कार्यक्रममा सहभागी जिल्लाका राजनीतिक दलहरुबाट सामूहिक प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply