धवलागिरी क्षेत्रको पदयात्रामा गएका विदेशी पर्यटक र उनीहरुका नेपाली सहयोगी अलपत्र परेका छन्।  पदयात्रामा रहेका उनीहरु हिमपातमा परेको र फर्किन नसकेको अनुमान व्यवसायीको छ। पदयात्रामा रहेका उनीहरुसँग सम्पर्क समेत नभएको व्यवसायीले बताएका छन्।

व्यवसायीका अनुसार पदयात्रामा रहेका ती पदयात्री हिमपातपछि बीचमै रोकिएर सुरक्षित बसेको अनुमान छ। तर, वास्तविक अवस्था भने अझै यकिन भएको छैन। सञ्चार सम्पर्क नहुँदा अवस्था यकिन हुन नसकेको पदयात्रा व्यवसायीको भनाई छ। पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष सुशीलराज पौडेलका अनुसार धवलागिरीको पदयात्रामा कतिजना छन् भन्ने यकिन छैन। विभिन्न कम्पनिबाट गएका उनीहरुबारे विस्तृत विवरण कतै छैन।

{

‘धवलागिरी सर्किटमा गएका विदेशी अप्ठेरोमा परेका छन्। उनीहरुसँग सम्पर्क पनि भएको छैन,’ पौडेलले भने। पौडेलको कम्पनिबाट गएका तीनजना भारतीय र उनीहरुका पाँचजना नेपाली सहयोगी र एकजना गाइड गरि नौजना अहिले सम्पर्कमा नरहेको उनले बताए। उनीहरु आइतबारसम्म पोखरा फर्किसक्नुपर्ने भएपनि सम्पर्कमा नआएको अध्यक्ष पौडेलले बताए। ‘आइतबारसम्म पोखरा फर्किनुपर्ने हो, तर, उनीहरु सम्पर्कमै छैनन,’ उनले भने, ‘कतै अप्ठेरोमा परेको अनुमान छ।’

अध्यक्ष पौडेलका अनुसार एक्सपीडिसनका लागि धवलागिरी बेसक्याम्प (४७४८) मा बसिरहेको टिमले सम्पर्कविहीन भएका व्यक्तिको खोजी गरिरहेका छन्। तर, उनीहरु बीचबाटोमै अलपत्र परेको आशंका छ। धवलागिरी पदमार्गको इटालियन क्याम्प (३६६०) र धवलागिरी क्याम्पको बीचमा जापानीज क्याम्प (३८९०) छ, जहाँ कुनैपनि तरिकाबाट सम्पर्क हुँदैन । सम्पर्कमा नरहेका भनिएका विदेशी पदयात्री र उनीहरुका नेपाली सहयोगी त्यही जापानीज क्याम्पमा रोकिएको आशंका रहेको उनले बताए।

‘जापानीज क्याम्पमा पनि नरहेको हो भने त्यो अप्ठेरो अवस्था हो भन्ने बुझनुपर्छ,’ उनले भने, ‘उनीहरुसँग खाने र बस्ने सामाग्री त पर्याप्त छ। तर, सम्पर्क भएको छैन।’ उनीहरु पदयात्रा गएकै बाटोबाट फर्किने विकल्प भएपनि हिमपातले समस्या ल्याएको हुनसक्ने उनले बताए। ‘जहाँबाट पदयात्रा सुरु हुन्थ्यो, त्यही बाटोबाट फर्किनुपर्ने हो, धवलागिरी पास पुरा गर्न नसक्दा गएकै बाटोबाट फर्किनुपर्ने हो, तर, कतैपनि सम्पर्क छैन,’ उनले भने। मौसम खराबीले हेलिकप्टर पनि जान नसकेको उनले बताए।

पदयात्रा व्यवसायी मिलन तिवारीका अनुसार धवलागिरीको इटालियन क्याम्प माथि होटल छैनन। होटल नहुँदा पदयात्रामा गएका पदयात्री टेन्टमा बस्नुपर्छ। ‘धेरै नै जना सम्पर्कमा नआएको भन्ने सुनेका छौ। तर, कति जना छन् भन्ने नै यकिन छैन। कम्पनिले पनि विवरण दिएका छैनन,’ तिवारीले भने, ‘धवलागिरी पदयात्रामा निकै नै समस्या देखिएको छ। पदयात्रामा गएका पाहुना फर्किन पनि सक्ने अवस्था छैन।’

तिवारीका अनुसार धवलागिरीको पदयात्रामा गएका पदयात्रीमध्ये केहीले मात्र  ४७४८ मिटर पार गरेर मुस्ताङको मार्फा झर्छन। नत्र गएकै बाटो फर्किने हुन। मार्फा झर्ने रुट निकै नै जोखिमपूर्ण रहेको छ। ‘इटालियन क्याम्पबाट माथि गएको थाहा भएको तर, तल झरेको थाहा भएको छैन। तल झरेको भए उनीहरु सम्पर्कमा आइसक्थे। उनीहरु सम्पर्कविहीन भएको ३÷४ दिन भएको छ,’ तिवारीले भने, ‘अब त उनीहरु फर्किसक्नुपर्ने हो। तर कतै सम्पर्क भएको छैन।’ यो बेला धवलागिरी बेसक्याम्पमा धेरै पाहुना छन्। मौसम खराब हुँदा त्यहाँ हेलिकप्टर पनि जान सकेको छैन।

उनका अनुसार मनास्लु सर्किटको लार्केपास पार गरेर अन्नपूर्ण पदमार्गको धारापानी निस्कन हिडेका उनीहरु अप्ठेरामा परेका छन्। ‘लार्केपास गर्न सकेका छैनन। विदेशी नागरिक र उनीहरुका नेपाली सहयोगी रहेका छन्। तर, कति संख्यामा भन्ने यकिन भएको छैन। कम्पनिले हेलिकप्टर माग गरिरहेका छन,’ उनले भने, ‘मनास्लुमा पर्यटकसँग सम्पर्क भएको छ, तर हिडडुल गर्न मात्र सकेका छैनन।’ तल झर्न पहिरोको मार र माथि उक्लिन हिमपातको अप्ठेरो रहेको व्यवसायीले बताएका छन्।

अन्नपूर्ण फेरो पदयात्रामा रहेका पर्यटक पनि अप्ठेरोमा परेका छ। मनाङ हुँदै गएका उनीहरु अन्यत्रको जस्तो बढी समस्यामा भने छैनन। तर, उनीहरुको पदयात्रा पुरा हुन सकेको छैन। उनीहरुले थोराङला भञ्ज्याङ पार गर्न नसकेको र फर्किने बाटोमा पनि पहिरो झरेकोले अप्ठेरो भएको छ। ‘हाइ अल्टिच्यूडमा गएका पर्यटकलाई माथि जान पनि नसक्ने र फर्किदा पहिरोको सकस छ,’ पौडेलले भने।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख राजकुमार गुरुङले धवलागिरीमा पर्यटक अप्ठेरोमा परेको बारेमा जानकारी नभएको बताए। धवलागिरीका पर्यटकले एक्यापसँग परमिट समेत लिनु नपर्ने भएकोले त्यसबारे जानकारी नहुने उनले बताए। ‘टुकुचे, मार्फा हुँदै गएको भए मात्र एक्यापको घाँसामा विवरण राखिन्छ। तर, बेनी हुँदै जाँदा एक्यापसँग अनुमति लिनु पर्दैन। घाँसा र मार्फा हुँदै गएमा बल्ल अनुमति लिनुपर्छ। त्यो रुटबाट निकै नै कम पदयात्रा हुन्छ,’ उनले भने। उनले पदयात्रामा गएका पर्यटक अप्ठेरोमा परेको भए खोजी र उद्धारमा सहजीकरण गर्नु तदारुकता देखाउनुपर्ने बताए।

Leave a Reply