धवलागिरी आधारशिविर पदयात्रामा गएका एकजना कोरियन पर्यटक र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने आधारशिविरमा आएको हिमपहिरोमा परेर कोरियन र नेपाली नागरिक गरि दुइजना बेपत्ता भएका हुन्। तीनदिन अघि नै हिमपहिरोमा परेर उनीहरु हराएको स्थानीयले बताएका छन्।

धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार धवलागिरी आधारशिविरको पदयात्रामा गएका मध्ये दुइजना हिमपहिरोमा परेका हुन। पुनका अनुसार अरु दुइजना कोरियन र उनीहरुका चारजना नेपाली सहयोगीको भने उद्धार भएको छ। ‘आाधारशिविरबाट फर्किदै गर्दा हिमपहिरोमा परेको जानकारी पाएका छौ। उनीहरुको अवस्था अहिलेसम्म अज्ञात छ,’ पुनले भने, ‘समुहका अरु साथी र सहयोगीको भने उद्धार भएको जानकारी पाएका छौ।’ हिमपहिरोमा परेर बेपत्ता भएका पर्यटक र उनका नेपाली सहयोगीको नाम भने खुल्न सकेको छैन। कुन कम्पनिबाट पदयात्रामा गएका थिए भन्ने समेत यकिन नभएको उनले बताए।

धवलागिरी आधारशिविर पदमार्गको इटालियन क्याम्पमा होटल चलाईरहेका व्यवसायी हरिप्रसाद तिलिजाले पनि एकजना कोरियन र उनका नेपाली सहयोगी हिमपहिरोमा परेर बेपत्ता भएको बताए। ‘तीनजना कोरियन थिए, अरु दुइजनाको भने हेलिकप्टरबाट उद्धार भएको छ,’ उनले भने, ‘आधारशिविर पुगेर फर्किदै गर्दा केहीदिन अघि नै हिमपहिरोमा परेका रहेछन्। अधिक हिमपात र सम्पर्क टुट्दा ढिला गरि जानकारी बाहिर आएको हो।’

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी च्याप्टरका सचिव मिलन तिवारीले तीनजना भारतीय र ६ जना नेपाली सुरक्षित रहेको तथा एकजना कोरियन र उनका सहयोगी नेपाली हिमपहिरोमा परेको बताए। ‘इटालियन क्याम्पमा बसेका सबै सुरक्षित छन। हिमपातले रोकिएका उनीहरु हिजो इटालियन क्याम्पबाट तल झरेका छन्,’ तिवारीले भने, ‘तर, धवलागिरी बेसक्याम्प पुगेर फर्किदा एकजना नेपाली र एकजना कोरियन हिमपहिरोमा पुरिएका छन्।’

उनले पनि तीनजना कोरियन पदयात्रामा गएको बताए। बेसक्याम्पबाट फर्किदा एकजना कोरियन र एकजना नेपाली हिमपहिरोमा परेको उनले बताए। ‘तीनदिन अघिको घटना हो। तर, सम्पर्क नहुँदा ढिलागरि जानकारी बाहिर आएको हो,’ तिवारीले भने। उनका अनुसार बेसक्याम्पमा अरोहणका लागि गएको टिम बसिरहेको छ। ‘इटालियन क्याम्प र धवलागिरी बेसक्याम्पको बीचमा जापानीज क्याम्प छ, त्यहाँ आउजाउ समेत सम्भव छैन, अरु पनि फँसेको अनुमान हो,’ उनले भने, ‘तर, फँसेका व्यक्तिको बारेमा भने कतै जानकारी छैन।’

Leave a Reply