गएको बुधवारदेखि बन्द बेनी–जोमसोम सडक आज साेमवारदेखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षासँगै पहिरो खसेर दशैँकाे मुख्य दिन अर्थात् टीका लगाउने दिनदेखि बन्द भएको बेनी–जोमसोम सडक पहिरो पन्छाएपछि पाँच दिनपछि खुलेको हो ।

बेनी–जोमसोम खण्डमा सडक माथिबाट ठाउँ–ठाउँमा खसेको पहिरो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । वर्षाले बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी खण्डको आधा दर्जन ठाउँको पहिरो पन्छाएर सडक खुलाइएको म्याग्दीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले बताउनुभयो ।

अविरल वर्षासँगै खसेको पहिरोले म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैंसरी, अन्नपूर्ण–२ नैनीबगर र ३ नम्बर वडा दानाको रुप्सेखोला लगायत ठाउँमा सडक बन्द भएको थियो । वर्षासँगै सडकभन्दा माथिबाट ठूल्ठूला ढुङ्गा, ढिस्को र लेदो मोटोसहितको गेग्रान खसेर सडक खण्ड बन्द भएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको मेशिनको सहायताले पहिरो हटाइएकाे डीएसपी भारतीले जानकारी दिनुभयो ।

सडक खुलेसँगै बीच बाटाेमै रोकिएका यात्रु गन्तव्यतर्फ लागेका छन् । दशैँ बिदा मनाउन तथा मुक्तिनाथको दर्शन गर्न मुस्ताङ भ्रमणमा गएका नेपाली तथा विदेशी पर्यटक, पदयात्री, साइकल यात्री आ–आफ्नो गन्तव्यतर्फ फर्किएका हुन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी काेरिडोरअन्तर्गत पर्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेकाले पनि पानी पर्नासाथ आवतजावतमा समस्या हुने गरेको छ ।

बेनी–जोमसोम सडक बन्द हुँदा मुस्ताङमा खाद्यान्न तथा निर्माणका सामग्रीहरू ढुवानी गर्न र त्यहाँ उत्पादित सामग्री म्याग्दीसहित देशका विभिन्न जिल्लामा पठाउनसमेत समस्या भएको थियो । यस्तै दशैँकाे टीकाकाे दिनदेखि प्रतिकूल बनेको मौसमका कारण जोमसोम विमानस्थलमा जोमसोम–पोखरा हवाई उडान नहुँदा पर्यटक समस्यामा परेका थिए ।

यसैबीच पश्चिम म्याग्दी हुँदै जलजला–ढोरपाटन भएर रुकुम जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि आजदेखि पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बेनी नगरपालिका–४ तातोपानी र मंगला गाउँपालिका–२ सिमलचौरको सिमानामा पर्ने घुमाउनेभिरमा खसेको पहिरो पन्छाएर सडक खुलाइएको डीएसपी भारतीले बताउनुभयो । त्यस्तै मालिका गाउँपालिका–६ दरबाङको बाङ्गेपहिरो भन्ने ठाउँमा पनि पहिरो पन्छाएर सडक खुलाइएको छ ।

Leave a Reply