आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् । बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका शिर्ष नेताहरुको संयुक्त बैठकले ५१ सदस्यीय मुल चुनाव प्रचार समिति बनाएको हो । नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी)को संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनमा आवद्ध जिल्लामा क्रियाशिल नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधी थप गर्ने निर्णय गरेका छन् ।

माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा (सुवास)ले जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका, वडा र टोल स्तरसम्म संयुक्त चुनाव प्रचार समिति गठन गरेर परिचालन गर्ने निर्णय भएको बताउनुभयो । बैठकले चुनावी तालमेल गरेका दलहरुबीच संयुक्त चुनाव प्रचारप्रसार अभियान, प्रतिवद्धतापत्र तयार, व्यवस्थापनको मोडालिटि तयार पारेको छ । गठबन्धनमा आवद्ध दलका जनवर्गीय संगठन परिचालनका लागि संयुक्त बैठक र प्रशिक्षण गर्ने भएका छन् ।

प्रदेशसभा क्षेत्र (ख)को संयुक्त निर्वाचन परिचालन समितिको बैठक असोज २८ गते दरवाङमा आयोजना गर्ने निर्णय भएको छ । क्षेत्र (क)को कार्यक्रमको मिति तय गर्न बाँकी छ । गठबन्धनबाट प्रतिनिधीसभामा काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका युवा नेता हरि भण्डारी र (ख) मा माओवादीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन) उमेद्वार बन्नुभएको छ ।

Leave a Reply