हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई ४० लाख बढी सहयोग गरेको छ । गरिब तथा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सघाउन कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा मोना हङकङले रु ४० लाख ११ हाजर १११ आर्थिक सहयोग गरेको हो ।

मंगलवार बेनीमा आयोजित एक कार्यक्रमका बिच मोना हङकङका अध्यक्ष कर्णबहादुर पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका छन् । मोना हङकङको २० औँ साधारणसभाको अवसरमा कोषका लागि संकलन भएको उक्त रकम प्रदान गरिएको अध्यक्ष पुनले बताए ।

‘विपन्नको उपचार अभियानमा थप सहयोग पुग्ने छ,‘म्याग्दीमा रोग लागेर विरामी भएमा आर्थिक अभाबकै कारण उपचार गराउनबाट बञ्चित हुन नपरोस भनेर अक्षयकोष बनाउनु पुन्य कार्य हो, यसमा हाम्रो पनि सहभागीता होस भनेर सहयोग जुटाएका हौँ’’ अध्यक्ष पुनले भने ।

अध्यक्ष पुनका अनुसार, मोना हङकङले अहिलेसम्म विपन्नको उपचार, प्राकृतिक प्रकोपबाट पीडित भएकाहरुलाई राहत संगै शिक्षा, स्वास्थ्य लगायतको परोपकारी क्षेत्रमा साढे २ करोड बढी सहयोग गरिसकेको छ ।

मोना हङकङले संकलन गरेको उक्त रकम जुटाउन हङकङमा रहनुभएका १५ जना म्याग्देलीहरुले प्रतिव्यक्ति रु २ लाख सहयोग गर्नुभएको थियो । उक्त अवसरमा अक्षयकोषमा रु २ लाख सहयोग गरि व्यक्तिगत संरक्षक सदस्यता प्राप्त गर्नुभएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सहभागी कर्ण पुन, इन्द््र थापा मगर, प्रमोद गिरी, जेबेन्द्र फगामी र राजु गर्वुजा पुनको दम्पतीलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि राना, बेनी नगरपालिकाका मेयर सुरत केसी, कोषका अध्यक्ष शाक्य लगायतले व्यक्तिगत संरक्षक सदस्यता प्रदान संगै माला लगाएर सम्मान गर्नुभएको थियो । २०७१ सालदेखि सञ्चालन भएको अक्षयकोष निर्माण अभियानमा हालसम्म रु १ करोड ४३ लाख संकलन भएको कोषले जनाएको छ ।

कोष मार्फत हालसम्म २६५ जना गरिब तथा आर्थिक अबस्था कमजोर भएका विरामीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको कोषका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमले बताए । कोषमा हालसम्म आर्थिक सहयोग गरि ८३० जनाले आजिवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन् ।

आर्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न म्याग्दीवासीहरुको उपचारमा सघाउ पु¥याउन स्थापना गरिएको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई प्रवासमा रहेका म्याग्देलीहरुले सहयोग गरीरहेको सचिब लोकेश पुन मगरले जानकारी दिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राना, बेनी नगरपालिकाका मेयर केसी, बेनी अस्पताल व्यवस्थापन समितका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल, मोना म्याग्दीका संस्थापक रमेश गिरी लगायतले गरिब तथा विपन्नको उपचारका लागि प्राप्त भएको रकमको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै प्रवासी म्याग्देलीहरुलाई सामाजिक क्षेत्रमा सहयोग संगै उत्पादनशिल क्षेत्रमा लगानी ल्याउन अनुरोध गरेका थिए ।

कोषका अध्यक्ष शाक्यले कोषको मर्म अनुरुप आर्थिक रुपमा विपन्नता भएका विरामीहरुको उपचारमा कोषले सहयोग गर्ने प्रतिबद्धता जनाए । गरिब तथा विपन्नहरुको स्वास्थ्य उपचारमा सघाउनका लागि रु ३ करोड बराबरको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको अध्यक्ष शाक्यले बताए ।

मोना हङकङका अध्यक्ष पुनको अध्यक्षता बरिष्ठ उपाध्यक्ष प्रमोद गिरीको स्वागत र महासचिब जेबेन्द्र फगामीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । हाइपोलास्टिीक एनीमिया रोगबाट पीडित ओमकुमारी पुन(शान्ति)को उपचारका क्रममा निधन भएपछि पुनको उपचार अभियानमा संकलन भएर बचत भएको रु १३ लाख रकमबाट उहाँकै नाममा ओमकुमारी शान्तिकोष स्थापना गरिएको थियो ।

 

Leave a Reply