म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन्। विश्वको सातौं (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौ जनाको उद्धार भएको छ। थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला ट्रेकिङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन्।

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरन परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मंगलबार ताकममा ल्याएर छाडेको छ। बुद्धि , प्रकाश, कुमार, वीरबहादुर  र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए।

‘असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्षात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौं’, उनले भने, ‘हामी पनि चार दिन ठाटीमा भोकै बस्यौं। खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन्।’  चार जना पर्यटक पथप्रदर्शकलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ।

उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए।

Leave a Reply