प्रसिद्ध पदमार्ग राउण्ड धवलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। म्याग्दीको धवलागिरि गाउँपालिका मुदीमा अवस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हङकङबाट आएका म्याग्देलीले हङकङ लगाएतका क्षेत्रमा म्याग्दीको पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्ने गरी पदयात्रा सुरु गरिएको हो ।

विभिन्न पेशा तथा रोजगारीका क्रममा हङ्कङमा बसोबास गर्ने म्याग्देलीहरुको संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ(मोना) हङ्गकङ्गको आयोजनामा पर्यटन प्रवर्धन गर्न १२ दिनको चक्रीय धवलागिरि पदयात्राको आयोजना गरिएको हो । बेनीबाट सुरु भएको पदयात्रा धवलागिरि गाउँपालिका ४ मुदीदेखि धवलागिरि बेसक्याम्प हुँदै मुस्ताङको मार्फा निस्किने कार्यक्रम रहेको मानो हङ्कङका अध्यक्ष कर्ण पुन मगरले बताउनुभयो ।

पदयात्रामा मोनाका टोली, पत्रकार र गाइड गरी ३२ जना सहभागी छ । धौलागिरि चक्रीय पदमार्गलाई विश्वभर चिनाउने उद्देश्यले पदयात्रा गर्न बुधबारदेखि उहाँहरू बेनीबजारबाट मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरि बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कनेछन् । जिल्ला सदरमुकाम बेनी हुँदै तातोपानी, बाबियाचौर, दरबाङ, ताकम, मुदी र दरवाङ, बिम, खिवाङ, बगर हुँदै धवलागिरि बेसक्याम जाने गरेका छन् ।

म्याग्दी हुँदै गएका अधिकांश पर्यटक धवलागिरि पदयात्रा पूरा गरी मुस्ताङको मार्फा, टुकुचे, बागलुङको ढोरपाटन तथा डोल्पा जाने पदमार्गमा पूर्वाधार विस्तार, अस्थायी संरचना, पदमार्ग मर्मत गरिए पनि राउण्ड धवलागिरिको यात्रा जोखिमपूर्ण मानिन्छ । राउण्ड धवलागिरि जैविक, सांस्कृतिक विविधता, हिमशृङ्खलाको अवलोकन, जनजातिको संस्कार र टे«किङका साथै ग्रामीण जनजीवन आदिको अवलोकनका साथै धवलागिरि हिमाल आरोहण पर्यटकका मुख्य आकर्षण हुन्।

धवलागिरि आधार क्षेत्रमा आएका पर्यटकको यात्रा १७ देखि २२ दिनसम्मको हुने गरेको छ । पदयात्रामा आउनेमा धरैजसो जर्मन, फ्रान्स र क्यानडाका छन् । विश्वभरका पर्यटकको रोजाइमा पर्ने भए पनि पदयात्राका क्रममा आवतजावतमा देखिएको समस्याका कारण अपेक्षाअनुसार पर्यटक आगमन हुन नसकेको धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताउनुभयो ।

राउण्ड धवलागिरिमा मङ्सिरदेखि फागुनसम्म सुनसान हुने भए पनि अन्य समयमा भने पर्यटकको चहलपहल हुने गरेको छ । पदयात्रामा निस्केका टोलीलाई बुधबार विहान बेनी नगरपालिकाका मेयर सुरत केसी, ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यलगायतले बिदाइ गर्नुभएको थियो ।

Leave a Reply