म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि हुने नवौं राष्ट्रिय खेलकुदको आवश्यक सबै तयारी पुरा भएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत म्याग्दीमा हुन गैरहेको राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको सबै तयारी पुरा भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । महिला भलिबल प्रतियोगिता सञ्चालनको लागि बेनीको खुलामञ्चमा खेलमैदान तयार पारिएको छ भने तेक्वान्दो प्रतियोगिता कालीपुलस्थित बहुउद्देश्यीय कबर्डहलमा खेलाइने भएको छ ।

महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न बेनीको खुलामञ्चमा खेलमैदानलाई व्यवस्थित बनाउने, अभ्यास खेल र भलिबलको कोर्ट तयार गर्ने, प्याराफिटमा रङ लगाउने, सरसफाइ गर्नेलगायत सबै तयारी सकिएका छन् । यसैगरी तेक्वान्दो प्रतियोगिता सञ्चालनका लागि पनि कालीपुलस्थित कबर्डहलमा आवश्यक पर्ने सबै व्यवस्थापनसहितका तयारी गरिएको छ । हालसम्म दुवै प्रतियोगिता सञ्चालन गर्नका लागि आवश्यक पर्ने सबै तयारी पुरा गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताए ।

यही असोज २७ गतेदेखि आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सयजना भन्दाबढी खेलाडी तथा अफिसियलहरु म्याग्दी आउने भएका छन् । महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनसहित कुल ११ वटा टिमले सहभागिता जनाउने बताइएको छ ।

उद्घाटन खेल गण्डकी प्रदेश र सुदुरपश्चिमाञ्चल बिच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । लिगमा खेलाइने खेलमा म्याग्दीका साथै जिल्ला बाहिरबाट समेत उल्लेखनीय दर्शक आउने बताइएको छ । म्याग्दीमा हुने महिला भलिबल खेलमा विभागीय टोली अन्तरगत नेपाल प्रहरीको टोली नेतृत्व कमला पुन र गण्डकी प्रदेशको अरुणा शाहीले गरेकी छन् । दुबै म्याग्देली हुन् ।

Leave a Reply