गाँजा खोज्दै हिड्ने लागु पदार्थ सेवनकर्तालाई रोक्न प्रहरीले धमाधम जमिनमा फैलिएको गाँजा नष्ट गरेको छ । समुदाय–प्रहरी साझेदारी’कार्यक्रम अन्तरगत यो अभियानलाई तिब्रता दिइएको छ ।

बुधबार बेनी नगरपालिका वडा नं २ जरुवा भन्ने स्थानमा स्थानीयबासीको सहयोगमा प्रहरी हवल्दार गंगाबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले १ रोपनी जमिनमा फैलिएको ४० बोट गाँजा नष्ट गरेको छ । सदरमुकाम बेनीबजार आसपासका लागु पर्दाथ सेवनकर्ताहरु गाउँबस्तीमा देखिन थालेपछि स्थानीयको सहयोगमा नष्ट गर्न टोली पुगेको प्रहरीले जनाएको छ।

त्यस्तै रघुगंगा गाउँपालिका वडा नं ७ चिमखोलामा प्रहरी हवल्दार ख्यामराज रोकाको टोलीले १ रोपनी जग्गामा फैलिएको ५० गाँजाको बोट नष्ट गरेको प्रहरीले जनाएको छ।नेपालमा गाँजामा प्रतिबन्ध लगाएसँगै गाँजाको सकारात्मक भन्दा नकारात्मक पक्षलाई लिएर प्रहरीले खोज्दै नष्ट गर्ने गरेको छ।

जताततै उम्रिएको गाँजा खोज्दाखोज्दै प्रहरी र समुदाय नै हैरानीमा छन् ।सार्वजनिक, ब्यक्तिको जग्गामा उम्रिएको गाँजा नष्ट अभियानमा समुदायको साथले प्रहरी उत्साहित भएको प्रहरी नायव उपरीक्षक तिलक भारतीको भनाई छ ।

’समुदायको साथले सहज भएको छ,लागुऔषधको प्रयोगकर्ताले गाँजा खोज्दै हिड्ने भएकाले नष्ट गरिएको हो’ प्रनाउ भारतीले भन्नुभयो । म्याग्दीको सहरबजार बाहेक ग्रामिण क्षेत्रमा समेत लागु पर्दाथ, औषधको प्रयोगकर्ता बढ्दै जान थालेपछि अभियान नै सञ्चालन गरेको प्रहरीले जनाएको छ ।

नेपाली समाजबाट गाँजालाई टाढै राख्ने, भेटेसम्म नष्ट गर्ने जस्ता अभियानले सहज भएको छ । गाउँदेखि सहरसम्मका कलिला यूवाहरु समेत कुलतमा फसेको भन्दै जिल्ला प्रहरी कार्यालयमार्फत जिल्लाभरका सबै प्रहरी यूनिटलाई गाँजा फडानीको निर्देशनसँगै समुदायसँग मिलेर खेतबारी, बनजंगलमा प्रहरीको टोली गाँजाको बोट फँडानी अभियानलाई तिब्रता दिएको छ ।

प्रहरीको हिरासतमा र प्रहरीको निगरानीमा रहेका लागु औषधका प्रयोगकर्तामध्ये करिब ८० प्रतिशतले गाँजाको सेवनबाटै शरीरका विभिन्न भागबाट प्रयोग गर्ने सिरिन्जको खोजी गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

म्याग्दीमा गाँजाका बोट रोप्ने भन्दा पनि प्राकृतिक रुपमा बढी मात्रामा उम्रने गरेको पाइएको छ। नेपालमा दुई प्रकारका लागुऔषधको उत्पादन हुन्छ। एक गाँजा, अर्को अफिम । दुबै प्रकारको उत्पादनबाट म्याग्दी उच्च जोखिममा रहेको छ।प्रहरीले यहाँका विभिन्न ठाउँका जमिनमा उम्रिएको गाजा नष्ट गर्न थालेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् ।

Leave a Reply