अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

नवौं राष्ट्रिय खेलकुद महिला : भलिबल गण्डकीसँग सुदुरपश्चिम सोझो सेटमा पराजित

On: October 13, 2022 6:18 PM
Follow Us:
---Advertisement---

म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि सुरू भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गतको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसँग सुदुरपश्चिम प्रदेश पराजित भएको छ । सदरमुकाम बेनीको खुल्लामञ्चमा भएको उद्घाटन खेलमा गण्डकी प्रदेशले सुदुरपश्चिमलाई सोझो सेटमा हराएको हो । खेलमा गण्डकी प्रदेशले पहिलो र दोस्रो सेटमा सजिलै पराजित गरेपनि अन्तिम तेस्रो सेटमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो सेटमा सुदुरपश्चिम १८–२५ ले पराजित भयो । दोस्रो सेटमा भने सुदुरपश्चिम निकै कमजोर खेल्दै ८–१५ ले पराजित भयो ।त्यसपछि तेस्रो खेलमा सुदुरपश्चिमले केही सुधारिएको प्रदर्शन गरे पनि हार टार्न सकेन। अन्तिम सेटमा २५–२२ ले पराजित भयो । गण्डकीको तर्फबाट कप्तान अरुणा शाही, खेलाडी पवित्रा विसी र रिमा कुँवरले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । घरेलु मैदान भएकाले कप्तान अरुणा र ओपन स्पाइकर पवित्रालाई सहज भएको थियो ।खेलमा सुदुरपश्चिमलाई गण्डकीले लगातार दवावमा राख्न सफल भएको थियो ।

प्रतियोगितामा गण्डकीकी रिमा कुँवर म्याद अफ दि म्याच घोषित भएकी छन् । प्रतियोगिताको उद्घाटनको अवसरमा म्याग्दी जिल्लाका विभिन्न जातजातिको कला र संस्कृति प्रर्दशन सहित बेनीबजारमा खेलाडीलाई स्वागत गरिएको थियो । प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गदैं भलिबल खेलका लागि म्याग्दीले प्राप्त गरेको अवसरलाई सदुपयोग गर्ने बताएका थिए ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, स्थानीय तहका प्रमुख, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको प्रतियोगिताको उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषद्ले ब्यवस्थापन तथा खेलाडीलाई आवश्यक पर्ने सुविधामा चासो नदेखाएको समेत गुनासो गरिएको थियो । बेनी नगरपालिकाका मेयर सुरत केसीले खेलकुदसँगै म्याग्दीको पर्यटन प्रर्वधन हुने भएकाले जिल्लाबासीलाई खेलाडीको सम्मान सहितका कार्यहरूमा प्राथमिकता दिन समेत अनुरोध गरेका थिए।

आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सयजना भन्दाबढी खेलाडी तथा अफिसियलहरु म्याग्दीमा आएका छन् ।महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय गरी कुल १० वटा टिमले सहभागी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।