सुन्दर नगरी बेनीबजारमा बिहिबारदेखि सुरू भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई भब्य स्वागत गरिएको छ ।

म्याग्दी जिल्लाको इतिहासमै पहिलोपटक भएको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन आएका ७ वटै प्रदेश र विभागीय टोलीका खेलाडी र अफिसियल, अतिथि लगायत प्रभातफेरीमा सहभागी भएकालाई बेनीबजारबासीले प्रत्येक घर अगाडी जलपूर्ण घडा (कलश) राखेर स्वागत गरिएको थियो ।

नेपाल भाषा मंकाःखलले लाखे, नागानागिनी, मगर संघले पुख्यौली नृत्य प्रस्तुत गरेको थियो भने विभिन्न जातजातिले आफ्नो भेषभुषा सहित ब्यानर लिएर प्रभातफेरी कार्यक्रममा सहभागीता जनाएका थिए ।

‘एकतावद्ध देश खेलकुदको सन्देश’ भन्ने मुख्य नारा सहित सुरु भएको खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको हो ।

प्रमुख अतिथि थापाले म्याग्दीमा हुने खेलकुद प्रतियोगिताले पर्यटन प्रर्बधनमा समेत सघाउने बताउनुभयो ।नेपालका अनुभवी खेलाडीहरूबाट नव प्रतिभाले सिक्ने अवसरका साथै जिल्लालभित्र रहेका पर्यटकीय गन्तब्यको प्रचारप्रसारमा समेत साथ दिने भएकाले सबैले भब्य र सभ्य रुपमा सफल बनाउन सघाउनुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले राष्ट्रिय खेलका लागि नगरपालिकाले खेलेको भूमिकालाई राखेपले विश्वास गरेको बताउनुभयो ।

उहाँले खेलकुद प्रतियोगितालाई सफल बनाएर म्याग्देलीको सकारात्मक सन्देश देशभरी पुर्याउनुपर्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदले तोकेर पठाएको खेलाडी र अफिसियल बाहेक अरु सहभागी नहुन निर्देशन दिदै नगर प्रमुख केसीले प्रतियोगितालाई मर्यादित, सभ्य र भव्य बनाउन सरोकारवाला तथा जिल्लाबासीहरुलाई आग्रह गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्षहरुको तर्फबाट बोल्दै धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनले म्याग्दीमा राष्ट्रिय खेल संचालन भएको प्रति खुसि प्रकट गर्दै प्रतियोगिता संचालनका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले प्रतियोगिता अवधिभर सुरक्षा मजबुत बनाएको बताउँदै सौहार्दपूर्ण वातावरणमा खेल संचालन र अवलोकन गर्न अनुरोध समेत गर्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद उपनिर्देशक टार्जन सुब्बा, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, भलिबल रेफ्री संयोजक चन्द्र बन्दना राई, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवाल, बेनी नगरपालिका वडा नम्वर ७ का अध्यक्ष रमेश श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

उद्घाटनपूर्व जिल्ला स्थित विभिन्न जातजाति तथा संघ संस्थाहरुको झाँकी सहित बजार परिक्रमा गरिएको थियो । कार्यक्रममा जिल्लाको पहिचान झल्किने गरि सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । उद्घाटन कार्यक्रम बेनी नगरपालिका प्रमुख केसीको अध्यक्षता, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीको स्वागत र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply