बागलुङ नगरपालिकाले नगर क्षेत्रमा मापदण्ड मिचेर बनाइएका संरचना हटाउन शुरु गरेको छ । नगरपालिकाले बागलुङ बजार क्षेत्रमा मापदण्ड मिचेर सरकारी जग्गा तथा सडकमा गेट तथा पसल अगाडि निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम दिन थालेको हो ।

नगरपालिकाले असोज १३ गते सूचना प्रकाशन गरि बागलुङ बजारमा सडक साँघुरो पारेका र शहरी सुन्दरता बिगार्ने गरी बनेका घरका पेटी, टहरा, रेलिङ, साइनबोर्ड, निर्माण सामग्रीलगायतका संरचना र सामग्री हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।

नगरपालिकाले बिहीबार वडा नम्बर २ श्रीनगरटोलमा मापदण्ड मिचेर व्याक्तिगत गेट राखिएको ठाउँको अनुगमन गरि तत्काल हटाउन भनिएको बागलुङ नगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष सुरज बोसेलले बताए ।

‘मापदण्ड विपरीत बनेका घरका पेटी, पसलका सामाग्री, ट्राफिक अवरोध गरि राखिएका निर्माण सामाग्री, लथालिङ्ग तारहरु समेत हटाउने योजनामा छौं’, उनले भने, ‘स्थानीयवासी सँगको समन्वयमा काम अघि बढाउन लागिएको छ ।’ यसको कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक रहेको बोसेलको भनाइ रहेको छ ।

सडकलाई व्यवस्थित गरेर मात्र अन्य शहरी विकासका कामलाई अघि बढाइने उनको भनाइ छ ।

Leave a Reply