म्याग्दीको मङ्गला गाउँपालिकाले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरेर मङ्गला इन्द्रेणी–पार्क निर्माण गरेको छ । गाउँपालिका र डिभिजन वन कार्यालय म्याग्दीको लगानीमा इन्द्रेणी पार्क बनाइएको हो ।

पालिकाको केन्द्र बाबियाचौरमा मङ्गला इन्द्रेणी पार्क निर्माण गरिएको छ । बाबियाचौर स्थायी घरभइ अहिले काठमाण्डाै बस्दै  आएका क्या. ईन्द्रबहादुर अधिकारीले झण्डै ४ रोपनी जग्गा निःशुल्क रुपमा उपलब्ध गराएपछि त्यसमा गाउँपालिकामार्फत १० आना जग्गा थप खरिद गरेर पार्क निर्माण गरिएको मङ्गला गाउँपालिकाले जनाएको छ ।

बालिबालिकाहरुको शारीरिक, मानसिक र बौद्धिक विकास गर्न तथा ज्येष्ठ नागरिकहरुको समेत सङ्गमस्थल बनाउने उद्देश्यसहित मङ्गला इन्द्रेणी पार्कको परिकल्पना गरी पार्क निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । खासगरी बजार क्षेत्रमा रहेका बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाउन र ज्येष्ठनागरिकले समेत सहज रुपमा समय बिताउनका लागि पार्क बनाइएको उहाँले जानकारी दिनुभयो।

गएको आर्थिक वर्षमा निर्माणसम्पन्न भएकाे इन्द्रेणी पार्कमा एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ । पार्क निर्माणमा यसअघि गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय म्याग्दीमार्फत १८ लाख रुपैयाँ बजेट लगानी गरेको थियो भने बाँकी सबै बजेट गाउँपालिकाले व्यवस्थापन गरेको जनाइएको छ ।

अहिले मङ्गलाको बाबियाचौरमा पार्क निर्माण भएपछि बिहान र बेलुकाको समयमा बालबालिकाहरु पार्कमा पुगेर रमाउन थालेका छन् । पार्कभित्र बालबालिकाहरुलाई लक्षित गरेर चिप्लेटी खेल्ने, पिङ खेल्नेलगायत फनपार्कका संरचनाहरु जडान गरिएको छ ।

आउँदाे दिनमा बालबालिकालक्षित अन्य संरचना थपिने तथा ज्येष्ठ नागरिकहरुका लागि पनि शारीरिक व्यायाम गर्ने, मनोरञ्जन लिने र अध्ययन गर्ने लगायतका संरचनाहरु जडान गरिने मङ्गला गाउँपालिकाको योजना रहेको छ । पार्क बनेर सञ्चालनमा आएपछि बालबालिकाहरुलाई लगेर भुलाउन र खेलाउन पाउँदा अभिभावकहरुलाई पनि राहत मिलेको छ । पार्कको मुख्य मैदानभन्दा माथि तीन वटा प्याराफिट निर्माण गरिएको छ ।

मङ्गला इन्द्रेणी पार्क परिसरभित्र सङ्ग्रहालय स्थापनाको लागि भवन निर्माण गरिसकिएको छ भने पार्कमा आउनेहरुलाई लक्षित गरेर पक्की शौचालय समेत बनाइएको छ । यसैगरी पार्कमा अपाङ्गमैत्री वाक–वे तथा बालउद्यानहरु निर्माण गरिएका छन् । त्यस्तै पार्कको वरिपरि घेराबार लगाउनुका साथै जग्गाधनीको अर्धकदको शालिक पनि बनाइएको छ । इन्द्रेणी पार्कमा खेल्न आउने बालबालिकाहरुको लागि खेलकुद तथा सङ्ग्रहालय सञ्चालन र ज्येष्ठ नागरिकहरुले व्यायाम गर्न आवश्यक पर्ने उपकरणसहितका सामग्रीहरु व्यवस्थापन गरिने मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

इन्द्रेणी पार्कभित्र दुबो लगाउनुका साथै धुपी, अशोकलगायत सुगन्धवाल फलफूलका बिरुवाहरु रोपिएका छन् । सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाएर उपयोग गर्नेगरी पार्क निर्माण गरिएको हो । बाबियाचौरमा निर्मित इन्द्रेणी पार्क मङ्गला गाउँपालिकाको गौरवको योजना रहेकाले विभिन्न संरचनाहरु बनाइएको प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाइ छ ।

जिल्लाको सामुदायिक वन क्षेत्रअन्तर्गत खाली रहेका जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली बनाउन पार्क निर्माण थालिएको छ । म्याग्दीमा यसअघि हरियाली पार्क निर्माण गर्न दुईवटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो । सहरी वन प्रवर्द्धन तथा उद्यान पार्क निर्माणको लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा बेनी नगरपालिका–२, ज्यामरुककोट र मङ्गला गाउँपलिका–२, बाबियाचौरमा गरी कुल ३० लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

बजेटमध्ये ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई १२ लाख र बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रममार्फत १८ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो । प्राप्त बजेट र योजना कार्यान्वयनको क्रममा मङ्गला गाउँपालिका आफैँले हरियाली पार्कलाई इन्द्रेणी पार्कमा रुपान्तरण गरी थप बजेट र जग्गाको व्यवस्थापन गरेर पार्कलाई मूर्तरुप दिएको हो । बाबियाचौरमा पार्क निर्माणसँगै पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सहरी तथा बजार क्षेत्र वरिपरि रहेका खाली एवम् पाखो जग्गा जमिनलाई प्रयोग गरेर हरियाली क्षेत्रको रुपमा विकास गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । पार्क निर्माण कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा गह्रा निर्माण गरी बगैँचा बनाउने, विभिन्न किसिमका फलफूल तथा बिरुवाहरु रोप्ने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ बिरुवाहरु लगाउने, बस्ने तथा खेल्ने ठाउँ बनाउने योजनाहरु छन् ।

Leave a Reply