धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ ।

एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन् । केहीले एकलरूपमा पनि गाउने गर्छन् । अहिले बजारमा आएका आधुनिक र लोकदोहोरीलगायतका गीतले गर्दा यानीमाया गीत गाइन छाडेको बूढापाकाको भनाइ छ ।

धवलागिरिको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खासगरी आदिवासी, जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ

बागलुङ जिल्लाको निसीखोलाका बूढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ । तर पहिलेको जस्तो रौनक भने छैन । गाउँदा–गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरी गीतभन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्तीमगरले सुनाइन् । उनले यो गीत नयाँ पुस्ताले नजान्ने बताइन् ।

“गीतहरू सबै एउटै हुँदैनन् । शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ । यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो । पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौँ,” उनले भनिन्, “अहिले यो गीत कहीँकतै पनि सुनिँदैन, अहिलेका युवायुवतीले गाउन जान्दैनन् । हामी पनि बूढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिँदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नुपर्छ । यानीमाया गीत गाउँदा–गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ ।”

घर्तीमगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताइन् । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतले यानीमाया गीत हराउन थालेको उनको भनाइ छ । घर्ती यानीमाया गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको बताउँछिन् ।

“हाम्रो गाउँतिर पहिले–पहिले रोधी बस्ने चलन थियो । रोधीमा तरुनी–तन्नेरी भएर गीत गाउने गथ्र्यौँ । धेरै वर्ष भयो, रोधी बस्ने र गीत गाउने चलन हरायो । रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो,” उनले भनिन्, “यो गीत त कलाकारले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिँदैन ।”

उनले रोधीमा यानीमाया गीत गाउँदा–गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताइन् । गीत गाउँदा–गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उनको भनाइ छ ।

“पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदा गाउँदै तरुनी तन्नेरी मन प¥यो भने बिहे गर्ने चलन थियो,” उनले भनिन्, “अहिले रोधी पनि बस्न छाडियो । त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन् । हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन् ।”

बागलुङ गलकोटका पूर्णबहादुर श्रीषले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको सुनाए । उनले यानीमाया गीतहरूमध्ये विशिष्ट गीत रहेको जनाउँदै पछिल्लो समय धवलागिरि क्षेत्रमै निकै कम गुन्जिने बताउँछन् ।

“यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन,” उनले भने, “यसले साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको छ ।”

लोक, आधुनिक र पप गीतजस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताए । यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीषको भनाइ छ ।

“यानीमाया तीन दिन तीन रात गाएर पनि सकिँदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराइबाट निस्किन समय लाग्छ,” उनले भने, “अहिले गाइने गीतहरुजस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो । यानीमाया गीत गाउन, सुन्न थालियो भने अरु गीत सुनेजस्तो, गाएजस्तो हुन्न ।”

उनले यानीमाया गीत टीभी, रेडियोमा सुनेर नभएर बूढापाकाले गाएको सुनेर सिकेको बताए । कलाकारले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने उनको भनाइ छ । रासस

Leave a Reply