मिलन म्याग्दीको  सदरमुकाम बेनीमा १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष कमला बानियाँ (थापा)ले चालु आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित कार्यक्रम र भावी कार्ययोजना, सचिव तिलकुमारी रानाले प्रगति र कोषाध्यक्ष ज्ञानुकुमारी बानियाँ (केसी)ले पेश गरेको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ ।

यसैगरी साधारणसभाले नतिजामा आधारित योजना अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन मार्गदर्शन निर्देशिका–२०७९, संस्थाको कार्य रणनीतिलाई परिमार्जनसहित बनाइएको संस्थाको कार्यसञ्चालन निर्देशिका–२०७९ र सञ्चार निर्देशिका–२०७९ पारित गरिएको मिलन म्याग्दीले जनाएको छ ।

त्यस्तै साधारणसभाको अवसरमा विभिन्न १० जना व्यक्तिलाई मिलन म्याग्दीको आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले मिलन म्याग्दीमार्फत सञ्चालित सामुदायिक झोलुङ्गे पुल निर्माण र सुआहारा कार्यक्रम जिल्लाको सबै स्थानीय तह हुँदै वडासम्म पुगेको बताउनुभयो ।

उहाँले विकासका लागि नेपाल सरकारले सरकारी र गैरसरकारी क्षेत्रलाई आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको बताउँदै राज्यले चालेको नीति र कार्यक्रमलाई राज्य पुग्न नसकेको ठाउँहरुमा सामाजिक संघसंस्थाहरुमार्फत पु¥याएर दीगो विकास गर्ने उद्देश्य रहेको बताउनुभयो ।

तत्कालीन द्वन्द्वकालीन समयमा राज्य पुग्न नसकेको ठाउँमा गैरसरकारी संस्था मिलन म्याग्दी पुगेर विकास निर्माणसँगै सामाजिक जागरणको कार्य गरेको उहाँको भनाइ थियो । साधारणसभामा बोल्दै मिलन म्याग्दीका पूर्व अध्यक्ष विनय श्रेष्ठले जिल्लामा मिलन संस्थामार्फत झोलुङ्गे पुल निर्माणमा आवश्यक प्राविधिक तथा सामाजिक सहजीकरण गर्नुका साथै बहुक्षेत्रीय पोषणको क्षेत्रमा सुआहाराबाट विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताउनुभयो ।

संस्थाको आजीवन सदस्य एवं धवलागिरि गाउँपालिकाको संस्थापक अध्यक्ष थमसरा पुनले ग्रामीण क्षेत्रका महिला तथा बालबालिकाहरुको पोषण अवस्था सुधार्न तथा समुदायमा सचेतनामूलकलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गरी समाज रुपान्तरण र परिवर्तनमा मिलन म्याग्दीले आफ्नो कार्य गर्दै आइरहेको बताउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले सामाजिक क्षेत्रका गतिविधिहरुमा मिलन म्याग्दीले सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनहरुमा पनि मिलनसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदीले मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमले स्वास्थ्य र पोषणको क्षेत्रमा काम गरेको हुँदा सुआहाराको निरन्तरतासहित आउँदा दिनमा पनि सहकार्य गर्ने वातावरण मिलोस् भन्ने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निमित्त जिल्ला समन्वय अधिकारी शालिग्राम पौडेल, कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देल, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल र महिलाअधिकार मञ्चको जिल्ला उपाध्यक्ष विष्णु गौतम सापकोटाले जिल्लामा गैरसरकारी संस्था मिलनमार्फत सामाजिक रुपान्तरण तथा जागरणका विभिन्न कार्यक्रमहरु सञ्चालन भएको बताउँदै शुभकामना व्यक्त गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटनसत्र संस्थाको अध्यक्ष कमला थापाको अध्यक्षता, सचिव तिलकुमारी रानाको सञ्चालन र कार्यकारी निर्देशक दिलमाया बिटालुको स्वागतमा सम्पन्न भएको थियो । २०५६ सालमा स्थापना भएको मिलन म्याग्दीले जिल्लामा सामुदायिक वन, झोलुङ्गे पुल निर्माण, पोषण तथा स्वास्थ्यको क्षेत्रमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै सामाजिक गतिविधिहरुमा सहयोग पु¥याउँदै आइरहेको छ ।

Leave a Reply