म्याग्दीका छ वटा पालिकामा ४५ वडामध्ये ४४ वटा वडामा सडक सुविधा पुगेको छ । धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जाबाहेक छ वटा पालिकाका सबै वडासम्म सडक सञ्जाल पुगेको हो । सडक सञ्जालको पहुँच पुगेसँगै पालिकाले विकासमा तीव्रता दिइरहेका छन् ।

सडक स्तरोन्नति, पक्की पुल निर्माण, घना बस्ती योजना, सिँचाइ, खानेपानी, ज्येष्ठ नागरिकको घरघरमा नै पुगेर स्वास्थ्य जाँच, औषधोपचारलगायत, सामुदायिक विद्यालयको गुणस्तर सुधार्न पनि नयाँनयाँ रणनीतिक योजनासमेत पालिकाले ल्याएका छन् । केही वर्षअघिसम्म टुकी वा दियालोका भरमा साँझ र रात बिताउन बाध्य गाउँलेका घरमा अहिले बिजुली बत्तीे झिलीमिली हुन्छ ।

गाउँगाउँका स्वास्थ्यचौकीको स्तरवृद्धि भएको छ । हरेक पालिकामा अनुभवी स्वास्थ्यकर्मीसहित सुविधासम्पन्न भवनमा प्रसूतिसहितको सेवा पुगेको छ । गाउँमा पशुपालन तथा कृषिमा लाग्ने किसानलाई उत्पादनमा आधारित अनुदान पालिकाले दिइरहेका छन् ।

विकासका हरेक नमूनाको अभ्यास गर्न यस जिल्लाका पालिका प्रतिस्पर्धात्मक तरिकाले लागिपरेको भए पनि गाउँलेहमा भने थातथलो छोड्नेक्रम घटनाको साटो झन बढेर गएको छ  । जनसाङ्ख्यिक हिसाबले पनि २०५८ को जनगणना र त्यसयताका दुई दशकमा भएका जनगणनाका तथ्याङ्कले समेत म्याग्दीको जनसङ्ख्या क्रमशः घट्दो क्रममा रहेको देखाइएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको नेपालको जनगणना २०७८ को नतिजाअनुसार विसं २०६८ को तुलनामा शुन्ना दशमलव ५४ प्रतिशतले जिल्लाको जनसङ्ख्या घटेको हो । विसं २०६८ को जनगणनाअनुसार एक लाख १३ हजार छ सय ४१ जना जनसङ्ख्या रहेको जिल्लामा २०७८ को प्रारम्भिक जनगणनामा एक लाख सात हजार तीन सय ७२ जना भएको जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले बताए ।

एक दशकमा जिल्लाबाट छ हजार दुई सय ६९ व्यक्ति घटेका छन् । स्थानीय जनप्रतिनिधिले पालिका वडामार्फत बस्तीका बासिन्दालाई स्थानीयस्तरबाट हुनुपर्ने सेवासुविधा दिन र दैलोको सरकारले बहन गर्नुपर्ने जिम्मेवारी पूर्णरूपमा पूरा गरेको जिकिर गरिरहँदा बढ्दो बसाइँसराइले भने ती उनीहरुको भनाइ प्रभावकारी देखिँदैन ।

जिल्लाका सबै गाउँपालिकाका केन्द्रसम्म सबै प्रकारका सुविधा पुगेका छन् । स्थानीय सरकार सञ्चालन भएको पाँच वर्षमा जिल्लाका सबैजसो पालिकाका केन्द्र जोड्ने मुख्य सडक स्तरोन्नति भएका छन् । पालिकाको केन्द्रदेखि वडाका वस्ती जोड्ने सडक निर्माण भएका छन् । अरू शाखा सडकको पनि स्तरवृद्धि तथा सडक चौडा पार्ने काम तीव्ररूपमा अघि बढेको छ ।

कतिपय पालिकाले त मुख्य मुख्य तथा आसपासमा बस्ती नभएका माध्यमिक विद्यालयका लागि स्कुल बसको व्यवस्थासमेत गरेका छन् । ग्रामीण बस्तीका खानेपानी, सिँचाइ, सामुदायिक भवन, कृषिलगायत समस्या समाधान गर्न र योजना वितरण गर्न वडैपिच्छे योजना सम्झौतासमेत गर्दै आइरहेका छन् ।

हरेक वडामा प्राविधिक, कृषि तथा भेटेरिनरी जेटिएकोसमेत दरबन्दी छ । गाउँगाउँमा खानेपानी र सिँचाइको व्यवस्था छ । ग्रामीण बस्तीमा पूर्वाधार विकासले जतिसुकै फड्को मारे पनि ग्रामीण क्षेत्रका बासिन्दाको बसाइँसराइ भने रोकिएको छैन । पालिकाका पञ्जीकरण शाखाले अद्यावधिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सबैजसो पालिकामा हरेक वर्ष बसाइँ सर्ने बढ्दै गएको पाइएको छ ।

जिल्लाको मालिका गाउँपालिकाले गत वर्ष गरेको सर्वेक्षणअनुसार विभिन्न वडाबाट एक वर्षको अवधिमा मात्रै ९७ परिवारका एक सय ९३ जनाले बसाइँसराइ गरेको पाइएको थियो । त्यस्तै बेनी नगरपालिकाका विभिन्न वडाबाट अघिल्लो वर्ष मात्रै करिब एक सय परिवारले बसाइँसराइको सिफारिस लिएका थिए ।

अन्नपूर्ण, धवलागिरि, मङ्गला र रघुगङ्गा गाउँपालिकाको हालत पनि उस्तै छ । गत वर्ष मङ्गला र रघुगङ्गाका विभिन्न वडाबाट मात्रै करिब दुई सय परिवारले बसाइँसराइ गरेको तथ्याङ्क छ । त्यसैगरी धवलागिरि र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण बस्तीबाट सुविधा खोज्दै बाहिरिनेको तथ्याङ्क पनि बर्सेनि बढ्दो छ ।

बसाइँसराइ गर्नेमा अधिकांश परिवार तराईका जिल्ला र केही सुविधासम्पन्न सहरबजारमा गएको पालिकाले जनाएका छन् । जिल्लाका सबैजसोले बसाइँसराइको सिफारिस लिएका आधारमा यो तथ्याङ्क निकालिएको पञ्जीकरण शाखाले जनायो । बसाइँसराइको सिफारिस लिने क्रममा कारण उल्लेख गर्नुपर्ने हुन्छ ।

अधिकांश वडाबाट आएका विवरणमा रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सुविधाको खोजीमा बसाइँसराइका कारण खुलाइएको छ । स्थानीय जनप्रतिनिधिहरुले विकासकै अभावले कसैलाई बसाइँसराइ गर्नुपर्ने अवस्था नरहेको बताए पनि बसाइँसराइ गरेकाहरु भने सुविधाकै खोजीमा आफूहरू गाउँ छोड्न बाध्य भएको जनाउने गरेका छन् ।

बेनी नगरपालिका वडा नं २ बाट बसाइँसराइ गरी नवलपुरको गौडाकोट नगरपालिका १२ हर्कपुरमा जानुभएकी अम्बिका शर्माले गाउँमा बसेर निर्वाहमुखी खेतीबाहेक अरू केही नहुने हुँदा अर्थोपार्जन र छोराछोरीको शिक्षादिक्षाका लागि बसाइँसराइ गरेको बताए ।रासस

Leave a Reply