म्याग्दीको सदरमुकाम बेनीमा करिब चारदशक कपाल काट्ने (नाई) काममा विताए रघुनाथ ठाकुर (पहलवान चाचा) । म्याग्दीकै पहिलो सैलुन ब्यवसाय समेत रहेका ठाकुरले हजारौंको सेवा गरेका छन् । भारतको उत्तर प्रदेशको महाराजको नौतुनुवा जिल्लाबाट कलिलै उमेरमा बेनीमा आएका ठाकुरको हातबाट तत्कालिन समयमा कपाल नकाटेका कमै छन् ।
विहानदेखि बेलुकीसम्म मेहनत गर्ने भएकाले उनलाई पहलमान भन्ने गरिन्थ्यो ।

भारतबाट यूवा अवस्थामै कैची, छुरा, ब्लेड र ऐना लिएर बेनीबजारमा पसेका ठाकुरको सेवाबाट सबै सन्तुष्ट थिए । बढ्दो फेसन र आधुनिकताकै कारण नेपाली पुरुष र महिलाहरुले समेत कपाल काट्न थालेको अवस्थामा युवा अवस्थाकै जस्तै दाह्ी,कपाल काट्न छिटोछरितो नभए पनि उनकै हातबाट सेवा लिनेको भिड हुन्थ्यो ।

उनी हाकिमको दाह्री,कपाल काट्न निवासमै पुग्थे भने होस्टेलमा बस्ने विद्यार्थीलाई विद्यालयमै पुगेर कपाल काट्ने गरेका थिए। बेनीबजारको संगमचोक, गणेशटोलमा विताएका ठाकुरको पान खान बजारदेखि गाउँबाट समेत झर्थे । कपाल काट्ने पेशामा लागेका भारतीय मूलका हजामहरु नेपालमा पसेपनि ठाकुरले बेनीलाई रोजेका थिए ।

बेनीमा प्रवेश गरेका ठाकुरले यो पेशा पारिवारिक गुजाराका लागि मात्र नभएर आर्थिक उन्नति समेत गरेका छन् । उनले ५ छोरी र १ छोराको विवाह समेत गरे, घर खर्च सहित सम्रग परिवारको आवश्यकता पूरा गरे । उनले सयौंजनालाई आफ्नो सीप हस्तान्तरण समेत गरे।

जिवनको अन्तिम क्षणसम्म यही पेशामा लागेर ७० बर्षको उमेरमा संसार छोडेका छन् । आफ्नै सैलुनमा बिरामी भएपनि सेवाग्राहीलाई सेवा दिइरहेको अवस्थामा एक्कासी सिकिस्त बिरामी भएपछि केहीदिन आराम गरेका ठाकुरको भारतमा उपचारको क्रममा मृत्यु भएको नाई संघ म्याग्दीका अध्यक्ष सञ्जय ठाकुरले बताए ।

‘हामीले अभिभावक गुमाएका छौ,‘उहाँले नै बेनीमा सैलुन ब्यवसाय सुरु गर्नुभएको थियो,‘बिरामी भएको जानकारी पाएपछि घरसम्म लैजान सहयोग गरेका थियौं, निको भएपछि फर्किन्छु भन्नुहुन्थ्यो, सधैका लागि छोडेर जानुभयो’ अध्यक्ष ठाकुरले भने ।

हिमाली हेयर कटिंङ सैलुन सञ्चालन गरेका ठाकुर नेपाल नाई संघ म्याग्दीका संस्थापक अध्यक्ष समेत हुन् । उनले संघ स्थापना गरेपछि भारतबाट अन्य ब्यवसायीलाई समेत जिल्लामा आउन अनुरोध गरेका थिए । २०५२ सालमा पहिलो पटक राजाराम ठाकुरको अध्यक्षतामा नेपाल नाई संघ गठनमा समेत स्वर्गीय ठाकुरको भूमिका रहेको नाई संघ म्याग्दीका अध्यक्ष सञ्जयले बताए । म्याग्दीका साथै बागलुङ, पर्वतमा समेत स्वर्गीय ठाकुरको सक्रियतामा सैलुन ब्यवसाय सुरु भएको थियो ।

 

Leave a Reply