नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ । बुधवार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो । स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो ।

त्यसपछि तेस्र सेटमा पुलिस क्लबले २६–२४ ले जित्यो । अन्तिम निर्णयक सेट २५–१९ ले जितेर एपीएफ च्याम्पियन बन्न सफल भयो । एपिएफलाई अन्तिम सेटमा रोक्ने नेपाल प्रहरीको प्रयास असफल भएको थियो ।

दुई टिमका बीच निकै प्रतिस्पर्धात्मक र रोचक खेल हेर्न धौलागिरी क्षेत्रका विभिन्न स्थानबाट आएका दर्शकले खुल्लामञ्च खचाखच भरिएको थियो । नेपाल प्रहरीकी कप्तान कमला पुनको गृहजिल्ला समेत म्याग्दी हो । एपीएफकी निरुता थकुन्ना, सरस्वती चौधरी र नेपाल प्रहरीकी कप्तान कमला पुन, कामना विष्टको खेल हेर्न लायकको थियो ।

फाइनल खेलमा नेपाल प्रहरीको डिफेन्सीपको कमजोरीको फाइदा एपिएफले लिएको थियो । फाइनल खेलमा आयोजकले तोकेका रेफ्रीको कमजोरीले समेत खेलमा केहीबेर अहसज भएको थियो । विजेता टिमका खेलाडीहरुलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार, मेडल र ट्रर्फी वितरण गरिएको छ । विजेतालाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीमा महिला भलिबल र तेक्वाण्डो प्रतियोगिताको आयोजना गरिएको थियो । यसैगरी बागमती प्रदेशले तेस्रो स्थान जितेर कास्य पदक हात पारेको छ ।गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरि बागमतीले कास्य जितेको हो । भलिबलमा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहेको थियो ।

 

Leave a Reply