म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको काउलेगौडा युवा क्लव (केवाइसी घतान) द्वारा शुभ दीपावलीको पावन अवसरमा आयोजित नवौँ केवाईसी कप भलिबल प्रतियोगिता, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गरिएको छ ।

शनिबार बेनी नगरपालिका वडा नम्वर ९ का अध्यक्ष चक्र केसीले मेला संयोजक नगेन्द्र बस्नेतलाई भलिबल प्रदान गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका वडा अध्यक्ष केसीले खेलकुद र कला संस्कृतिको विकास र प्रर्वद्धनका लागि केवाईसीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको थियो ।

अध्यक्ष केसीले खेलकुदको विकासका लागि वडाले निरन्तर सहयोग गर्ने समेत बताउनुभयो । उहाँले युवाहरु समाज परिवर्तनका संवाहक भएको भन्दै सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा विशिष्ट अतिथि शत्रुभञ्ज्याङ गुल्मका गुल्मति मेजर शसांक अर्याल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायव उपरिक्षक प्रदिप थापा र म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष एवम् क्लवका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँ, काउलेगौँडा युवा क्लवका सल्लाहकार रुद्र रेग्मी, आमा समुहको तर्फबाट तोप कुमारी चोखालले कार्यक्रम सफलताको शुभकामना प्रकट गर्नुभएको थियो ।

विविध खेलकुद प्रतियोगिताको आज उद्घाटन खेल सम्पन्न भएको छ । प्रौढ भलिबल प्रतियोगिता अन्तर्गत आयोजक केवाईसी र पिप्ले विच भएको खेलमा सोझो सेटमा पिप्ले विजयी भएको क्लवका अध्यक्ष तथा रेफ्रि संयोजक राजिन पुरीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रम क्लव अध्यक्ष पुरीको अध्यक्षता, वडा अध्यक्ष केसीको प्रमुख आतिथ्यता र पूर्व क्लव अध्यक्ष चिरञ्जीवि शर्माको संचालनमा सम्पन्न भएको थियो । कार्तिक ७ गते दिउँसो १ गतेदेखि खुल्ला नृत्य प्रतियोगिता सहित कलाकारहरु रवि कार्की, मञ्जु विक, अमित विश्वकर्मा लगायतको लाईभ दोहोरी सहित विशेष सांगीतिक प्रस्तुति रहने मेला संयोजक नगेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

कार्तिक ८ गते सम्म संचालन हुने कार्यक्रममा वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ६१ हजार १ सय ११ र द्वितिय पुरस्कार ३६ हजार ६ सय ६६ ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।

त्यस्तै प्रौढ भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ३३ हजार ३३३ र द्वितिय पुरस्कार २० हजार ५५५ तथा महिला भलिबलमा प्रथम २५ हजार ५५५ र द्वितिय १५ हजार ५५५ ट्रफि मेडल र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको क्लव सचिव कुमार खत्रीले बताउनुभयो ।

कार्यक्रममा खुल्ला नृत्य प्रतियोगिता, महिला पुरुष लठो, अन्धनिशान, म्युजिकल चियर, भालेछुने लगायतका प्रतियोगितात्मक खेलहरु संचालन हुने क्लवले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई अवार्डको समेत व्यवस्था गरिएको छ । नवौँ केवाईसी भलिबल कपलाई काउलेगौडा घर भई हाल युके निवासी व्रिटिस आर्मी भोज बहादुर बानियाँ र सरिता बानियाँले रु ६२ हजार प्रदान गर्दै मुख्य प्रायोजन गर्नुभएको छ ।

बानियाँ परिवार क्लवको खेलमैदान निर्माणका लागि जग्गादाता समेत हुनुहुन्छ । त्यस्तै बेनी नगरपालिका वडा नम्वर ९ को कार्यालय सह–प्रायोजकको रुपमा रहेको छ । खेलको विकास, खेलाडी उत्पादन, कला संस्कृतिको संरक्षण सहित क्लवले सामाजिक सेवाका कार्यहरु समेत गर्दै आइरहेको छ ।

Leave a Reply