नेपाली काँग्रेसका जिल्ला उपसभापति कर्णबहादुर (के.बी.) भण्डारी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा इञ्चार्ज गोविन्द पौडेल र नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले अपिल जारी गर्नुभएको हो ।
अपिल मार्फत देशव्यापी बनेको गठबन्धनको मुल मर्म र लक्ष्यलाई स्थानीय स्तरमा कार्यान्वयन गर्ने र विकासको गतिमा पछि परेको म्याग्दीलाई नयाँ उचाई दिन गठबन्धनमा आवद्ध दलहरु प्रतिवद्ध रहेको उल्लेख छ ।
“२००७ देखि २०६२÷६३ को आन्दोलन, संघर्षबाट प्राप्त उपलब्धीको रुपमा रहेको २०७२ को संविधान र त्यसभित्रका व्यवस्था वाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्यबाट प्राप्त भएको हो,” विज्ञप्तिमा भनिएको छ “गठबन्धनमा आवद्ध राजनीतिक शक्तिहरुको सहकार्यबाट मात्र राष्ट्रिय स्वाधिनता, संघीय लोकतान्त्रिक गणतन्त्र, स्वतन्त्रता, सुशासन, सम्बृद्धि र मानवअधिकारको रक्षा सहित संविधानले परिकल्पना गरेको समाजवादको आधार निर्माण सम्भव छ ।”
“करिब २ तिहाईको जनमतलाई घोर अपमान गर्दै दुई पटकसम्म प्रतिनिधीसभा विघटनको असंवैधानिक र अलोकतानित्रक हर्कत गर्ने एमाले र केपी ओलीले विकासको गतिलाई अवरुद्ध पार्दै भ्रष्ट्राचार, दुःशासन र अराजकतालाई बढवा दिई आफुलाई नव तानाशाहको रुपमा अगाडी सार्न खोजे र उनले जनताको सार्वभौम संसदलाई निरन्तर प्रहार गरे तब विगतमा जस्तै लोकतन्त्र, स्वतन्त्रता, लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न गठबन्धन बनेको हो,” अपिलमा भनिएको छ ।
परम्परावादी शक्ति, प्रतिगमनकारी प्रवृतिको दलहरुसँग गठजोड गरी विभिन्न तिकडम, छलछाम र भ्रमको खेतीमा तल्लीन रहेको एमाले विरुद्ध संसद, संविधान, लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै सम्बृद्धिको लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको अपिलमा उल्लेख छ । गठबन्धनका तर्फबाट म्याग्दीमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका खमबहादुर (खम्बिर) गर्बुजा, प्रदेशसभा क्षेत्र (क) मा माओवादीका हरि भण्डारी र (ख)मा रेशम जुग्जाली उमेद्वार बन्नुभएको छ ।

Leave a Reply