गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नवौं स्टार भित्र स्ट्रंगेस्ट महिला म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानकी तारादेवी पुन पर्नुभएको छ । ३६ खेल, ६ हजार १२७ खेलाडीबीच ३९६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । गण्डकी प्रदेशमा एक सातासम्म चलेको नवौं राष्ट्रिय खेलकुदले नेपालको खेलकुद धेरै हदसम्म चलायमान भयो ।

कतिपय खेलको त लामो समयपछि राष्ट्रिय स्पर्धा हुँदा खेलाडीमा बेग्लै रौनक थियो । राष्ट्रिय खेलकुद नेपालको बृहत खेलकुद मेला हो । यो अन्तर्राष्ट्रिय सहभागिताको मुख्य आधार पनि हो । राष्ट्रिय खेलकुद खेलाडी उत्पादनको थलो पनि हो ।यसअघि नै सफलता देखिसकेका खेलाडीहरुका लागि पनि राष्ट्रिय खेलकुदले आफ्नो सफलता फराकिलो बनाउने अवसर हो ।

यसपटक गण्डकी प्रदेशको ८ जिल्लामा भएको नवौं राष्ट्रिय खेलकुद विशेषतः कास्कीमै केन्द्रित थियो । आधाभन्दा बढी खेल पोखरामै भए । राष्ट्रियखेलकुदमा केहि स्टार खेलाडी पनि थिए जसबाट सर्वोत्कृष्ट प्रदर्शनको अपेक्षा पहिलेदेखि नै थियो। केहि त्यस्ता सुपरस्टार पनि छन्, जो राष्टिय खेलकुदको समयमा मात्र चर्चामा आउँछन् ।

तारादेवी पुन नेपालको ‘स्ट्रङगेस्ट’ खेलाडी हुन् । यो अर्थमा कि उनी खेलकुदमा फलाम उचाल्ने खेलमा सबै भन्दा धेरै तौल उचाल्न सक्छिन् । अहिलेसम्म उनलाई चुनौती दिने कोही देखिएको छैन । ४० वर्षको उमेरमा पनि उनको जोशमा कुनै कमी आएको छैन ।

नवौंमा तारादेवीले आफ्नो नाममा अर्को स्वर्ण थपिन् । यो थप स्वर्ण मात्र होइन, निरन्तरता र मिहिनेतको प्रतिफल पनि हो । एक होइन दुई होइन तीन होइन । लगातार ६ पटक राष्ट्रिय खेलकुदमा सहभागी हुँदै शतप्रतिशत नतिजा दिनु चानचुने कुरा होइन । त्यो पनि दुई वर्षको अन्तरमा राष्ट्रिय खेलकुद नभएको अवस्थामा त यो निरन्तरता झन् अचम्म र लोभलाग्दो नै छ ।

उमेरले चार दशक काटेकी तारादेवी पुनले राष्ट्रिय खेलकुद खेल्न थालेको साढे दुई दशक भइसक्यो । उनले पहिलो पटक २०५४ मा भएको चौथो राष्ट्रिय खेलकुदमा भलिबलतर्फ स्वर्ण जित्दा नजन्मेका भलिबल खेलाडीले समेत नवौँ राष्ट्रियमा भलिबलमा स्वर्ण जित्ने भइसके ।

नेपाल पुलिस क्लबकी खेलाडी तारादेवीले २०५४ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट खेल्दै भलिबलबाट स्वर्ण जितेकी थिइन् । २०५८ यता भारोत्तोलन खेलमा लागेकी उनले २०६५ सालमा काठमाडौंमा भएको पाँचौं, २०६८ मा धनगढीमा भएको छैठौं, २०७३ मा विराटनगरमा भएको सातौं र २०७६ मा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जितिन् ।

नवौं अन्तर्गत पोखराको उद्योग वाणिज्य संघको हलमा भएको ताराले तीन राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । उनले क्लिन एन्ड जर्कमा १०२ केजी, स्न्याचमा ७० केजी उचालेर राष्ट्रिय कीर्तिमान बनाइन् । यस्तै कुल १७२ केजीका साथ उनले तेस्रो कीर्तिमान बनाइन् । १०० भन्दा बढी भार उचाल्ने उनी नेपालकी एकमात्र महिला खेलाडी हुन् । अनलाइन खबरबाट साभार

Leave a Reply