म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारमा सडक अतिक्रमण हटाउन थालिएको छ। बेनी नगरपालिका–७ र ८ मा पर्ने बजार क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना र सामग्री हटाउन थालेको हो।  नगरप्रमुख सुरज केसीले बजारको सडक व्यवस्थित बनाउन सडकको क्षेत्राधिकारमा निर्माण भएका सामग्री र संरचना हटाउने अभियान थालेको बताए।

संरचना र सामग्री हटाउन अनुरोध गर्दै नगरप्रमुख केसीसहित वडा नम्बर ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको टोलीले शनिबार बेनी बजारमा घरदैलो गरेका थिए।  सडकपेटीमा राखिएका निर्माण र व्यापारिक सामग्रीका कारण पैदलयात्रु तथा सवारी आवत जावतमा समस्या हुने गरेको छ।

दुर्घटनाको जोखिम पनि बढाएकाले सडकपेटीमा सामग्री नराख्न र बनाएका संरचना हटाउन अनुरोध गरिएको नगरप्रमुख केसीले बताए। व्यापारी र सम्बन्धित घरधनीले सामान नहटाए नगरपालिकाले आफैं हटाउने बताएको छ।

यसैगरी सार्वजनिक जग्गामा सडकको क्षेत्राधिकारमा पर्ने ठाउँमा बनाइएका संरचना हटाउन पनि ताकेता गरिएको नगरपालिकाले जनाएको छ। बेनीका विभिन्न ठाउँमा पुल, सडक पुल, खोल्सा र सार्वजनिक पाखोमा व्यक्तिगत संरचना बनाएर अतिक्रमण गरेका छन्।

बेनीमा यातायात ब्यवस्थापनका लागि एकतर्फी यातायात सञ्चालन, सवारी पार्किङ, कालीगण्डकी र म्याग्दी नदीको किनारै किनार वैकल्पिक सडक सञ्चालन, बहुउद्देश्यीय मैदानमा बसपार्क सञ्चालन गरिएको छ। साँघुरो सडकमा व्यापारीले सामान राख्ने र निर्माणाधिन घरका सामग्री थुपार्ने गर्दा आवत जावत र यातायात सञ्चालनमा असहज हुनुका साथै दुर्घटनाको जोखिम हुने गरेको छ।रासस

Leave a Reply