उज्यालो तथा झिलिमिली पर्व हो तिहार। नेपालीहरुको घर–घरमा भित्रिसकेको छ। दाजुभाई र दिदीबहिनीको आत्मिय सम्बन्ध पनि यो पर्वसँग जोडिएको छ । दशैँको रमझम सकिएलगत्तै उल्लास र उज्यालोको पर्व तिहार आएको छ।  कोजाग्रत पूर्णिमाको झन्डै दुई हप्तापछि यो पर्वको आगमन हुन्छ ।

आफ्ना दाजुभाईको दीर्घजीवनको कामना गर्दै मनाइने यो पर्वको धार्मिक र सांस्कृतिक महत्व जति छ, सामाजिक महत्व पनि उत्तिकै छ । तिहारले मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको प्राचिन सभ्यतालाई समेत प्रस्तुत गरेको छ। काग, कुकुर, गाई–गोरु आदिको पूजा गरी जनावर एवम् प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रुपमा लिइने यस तिहार पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्व बोकेको छ ।

पौराणिक कथा अनुसार सुर्यको छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्विकार गरी बहिनीको घरमा गई रमाइलो गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी यमुनाको घरमा बस्दा यमराजले बहिनी यमुनालाई ‘जे मन लाग्छ वर माग’ भनेपछि उनले ‘हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाई दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाईको आयु, कीर्ति सदा बृद्धि होस्’ भन्ने वरदान मागेकी थिइन् ।

यमराजले पनि ‘तथास्तु’ भन्दै मनसा, वाचा, कर्मणा र शुद्धचित्तले पुजा गर्ने गराउनेहरुको सधै उन्नती हुने तथा कीर्ति पनि फिँजिने वर दिई बहिनीसँग बिदा भई गएका थिए । त्यस समयबाट दाजुभाइ–दिदीबहिनीको सुमधुर स्नेहलाई बलियो बनाउन पनि यस पर्व मनाउने गरिएको पाइन्छ ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाई, मखमलीको माला अनि ओखर फोडेर दीर्घायु अनि समृद्धिको कामना गर्छन्।दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिएर दिदीबहिनीको सुस्वास्थ्य अनि समृद्धिको कामना गर्छन् । तिहार उज्यालो लिएर आउँछ ।

लक्ष्मीको आराधना गरिने यो पर्वले सम्पत्तिको महत्व पनि बुझाउँछ। तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । छिमेकी भारतमा दीपावली मनाइने भएपनि देउसीभैलो नेपालीको मौलिकता झल्किएको छ । देउसी भैलो खेल्ने संस्कृति संसारमै छैन । एक हिसाबले भन्ने हो भने यो पर्व र दिनलाई दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध र मेलमिलाप अझ बलियो हुने रूपमा लिने गरिन्छ ।

यसका साथै यही दिनदेखि नेपाल संवत् अनुसार नयाँ वर्षको प्रारम्भ पनि हुन्छ ।मौलिक पर्व तिहारका बेला फजुल खर्च गर्ने, जुवा–तास खेल्ने प्रवृत्ति पनि देखिएको छ। जुवा–तासलाई कुनै पनि कोणबाट राम्रो मान्न सकिँदैन ।घरखेत नै जानेगरि खेलिने जुवालाई निरुत्साहित गर्नुपर्छ ।देउसी भैलोजस्तो मौलिक संस्कृतिलाई जोगाउनु पर्छ । गच्छे अनुसारको दान दिने परम्परालाई बाध्यकारी बनाउन प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ ।

चाडबाड दशा बनेर आउनु हुँदैन । हुने खाने र हुदाँ खाने सबैको लागि उज्यालोको यो पर्व सबैको हुनुपर्छ । समग्रमा तिहार पर्वको मुख्य सन्देश र भावना नै आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुता हो । त्यसैले यो तिहारले समाजमा अझै बढी सद्भाव र सहिष्णुताको विकास गरोस् । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गर्दछौ । बेनीअनलाइन प्रालि परिवारकोतर्फबाट तिहार, नेपाल संवत् र छठको हार्दिक मंगलमय शुभकामना!

Leave a Reply