नेपाल भाषा मंकाः खल बेनीबजार, म्याग्दीको आयोजनामा आज (मङ्गलवार) सदरमुकाम बेनीमा नेपाल  संवत्को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल संवत्–११४३ को अवसर पारेर मंकाः खलद्वारा भिन्तुना ¥यालीको आयोजनासहित छात्रछात्रालाई सम्मान गरी नेपाल संवत् मनाएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले काठमाडौं खाल्डोमा नेवार समुदाय करिब पाँच हजार वर्षदेखि बस्दै आइरहेको भए पनि नेपाल संवत् मनाउन थालेको ११४३ वर्ष पुगेको बताउनुभयो । उहाँले अहिले नेपालका कुनै पनि विद्यालय, क्याम्पस र विश्वविद्यालय तहमा कला, संस्कृति र भेषभूषाको बारेमा अध्ययन नभएको भन्दै कला तथा संस्कृतिको विषयमा खोज, अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले नेपालको लोक, कला, संस्कृतिको पहिचान र संरक्षणमा विभिन्न जातीय संघसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले म्याग्दीको कला, सस्कृतिको विकास तथा संरक्षणमा मंकाः खलको पनि विशेष योगदान रहेको उल्लेख गर्दै नेपालको संविधान तथा विभिन्न आवधिक योजनाहरुमा समेत नेपालको धर्म, संस्कृतिलाई संरक्षण गर्न विभिन्न रणनैतिक योजनाहरु अगाडि सारिएको बताउनुभयो ।

नेपाल भाषा मंकाः खल म्याग्दीका संस्थापक अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले नेपाल संवत् कुनै जात विशेषको मात्र नभई सबैको साझा भएकाले यसलाई सबैको बनाउनुपर्ने बताउनुभयो । नेपाल भाषा मंकाः खलका सल्लाहकार एवं राजनीतिक व्यक्तित्व हरिकृष्ण श्रेष्ठले नेपाल संवत् सबैको र नेपालको आफ्नै भनेर विभिन्न समयमा आवाजहरु उठिरहे पनि आधिकारिता पाउन नसकेको भन्दै नेपालको आधिकारिक नेपाल संवत् बनाउन सरकारलाई आह्वान गर्नुभयो ।

कार्यक्रमको अवसरमा गएको शैक्षिक सत्र–२०७८ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने नेवार समुदायका छात्र तथा छात्रालाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुने छात्रछात्राहरुमा सामुदायिक विद्यालयतर्फ प्रकाश माध्यमिक विद्यालय बेनीका प्रेम श्रेष्ठ र मुक्तिधाम मावि राखुभगवतीको सलिना श्रेष्ठ, संस्थागततर्फ न्यु वेष्ट प्वाइन्ट बेनीका डिजी श्रेष्ठ र रियान्सा श्रेष्ठ रहनुभएको छ ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, नेपाल भाषा मंकाः खलअन्तर्गत महिलाहरुको संस्था मैजु खलका अध्यक्ष तुलसीलता श्रेष्ठ, युवा संस्था ल्यामुः पुचका अध्यक्ष जेनेश श्रेष्ठ, नेपाल छन्त्याल संघ म्याग्दीका अध्यक्ष रेशम छन्त्याल र सम्मानित विद्यार्थी डिजी श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल भाषा मंकाः खलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठको अध्यक्षता तथा स्वागत, सहसचिव सिर्जना श्रेष्ठको सञ्चालन र कोषाध्यक्ष ज्ञानेन्द्रकुमार श्रेष्ठको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेवार समुदायका कलाकारहरुले नृत्य प्रस्तुत गर्नुका साथै धिमे बजासहित बेनीबजारको परिक्रमा गरिएको थियो ।

Leave a Reply