बागलुङका च्यांग्रा व्यापारी हरि शर्माले आठ दिनको पैदलयात्रापछि तिहारका लागि मुस्तांगी च्यांग्रा बागलुङ ल्याएका छन् । दशैंका लागिसमेत बागलुङमा मुस्तांगी च्यांग्रा ल्याएर बिक्री गरेका शर्माले तिहारका लागि सोमवार आठ दिनको पैदलयात्रापछि बागलुङमा च्यांग्रा भित्र्याएका हुन् । दशैंमा ६७ वटा च्यांग्रा बागलुङ ल्याएर बिक्री गरेको बताउँदै शर्माले तिहारका लागि ५१ च्यांग्रा/च्यां‌ग्री बागलुङ भित्र्याएको बताए ।

‘दशैंमा च्यांग्राको व्यापार राम्रै भयो, त्यसबेला रोज्जा च्यांग्रा थिए, अहिलेका अलि साना र कम मूल्यका छन्’, शर्माले भने, ‘बाटोमा चराउँदै र बिक्री गर्दै ल्याउँदा सहज हुन्छ, आठ दिनको हिँडाइपछि बागलुङ आएको छु, अहिले रोज्जा च्यांग्राको मूल्य रु ३५ हजार छ, दशैंमा ठूला च्यांग्रालाई रु ४५ हजारसम्म बिक्री गरियो ।’

उनले बागलुङ बजारमा च्यांग्राको माग उच्च रहेको बताए । तिहारअघिसम्म च्यांग्रा बिक्री गरिसक्ने उनको लक्ष्य छ । उनले ल्याएका ५१ वटा च्यांग्रा/च्यांग्रीमध्ये २० वटा बिक्री भइसकेको बताए । च्यांग्राको मूल्य रु ३५ हजार र च्यांग्रीको मूल्य रु २७ हजार रहेको शर्माको भनाइ छ ।

मुस्ताङका च्यांग्राको माग दशैंमा उच्च भए पनि तिहारमा समेत यसको बिक्री राम्रो हुने भएकाले आफूले मुस्ताङ पुगेरै च्यांग्रा खरिद गरेर ल्याएको शर्माको भनाइ छ । सामान्य अवस्थामा मुस्ताङ र तिब्बतबीच वर्षको दुईपटक व्यापार हुने गरेकामा कोरोनाका कारण व्यापार नाका नखुल्दा यस पटकको दशैं तिहारमा मुस्ताङमा मात्रै उत्पादन भएको च्यांग्राको आयात भएको थियो । च्यांग्राको माग उच्च भएको र आयात थोरै हुँदा मूल्यमा भने भारी वृद्धि भएको च्यांग्रा व्यापारीले बताएका छन् ।

हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा च्यांग्रा खोज्ने गर्छन् । मुस्ताङका भेडाच्यांग्रा अत्यन्त महँगो भएकाले यस वर्ष स्थानीयस्तरमा पालिएका खसी र बागलुङको उच्च हिमाली क्षेत्रमा पालिएका भेडाको पनि माग अत्याधिक रहेको व्यापारीले बताएका छन् । यसवर्ष १२ हजारदेखि १५ हजारसम्म मुस्ताङका च्यांग्रा निकासी भएको अनुमान छ । तिहारमा मासुसँगै अन्य रोटीका परिकारसमेत खाने चलन छ ।रासस

Leave a Reply