म्याग्दीमा आसन्न निर्वाचन निकै रोचक र पेचिलो हुने संकेत देखिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) र नेकपा एमालेको तर्फबाट पूर्व पार्टी अध्यक्ष हरिकृष्ण श्रेष्ठ वीच कडा प्रतिष्पर्धा हुने भएकोले यस पटकको निर्वाचन म्याग्दीमा पेचिलो बन्ने विश्लेषण हुन थालेको छ । चुनावका लागि म्याग्दीमा उम्मेद्वारहरु एक अर्काको भोट बैंक भएका क्षेत्रलाई कब्जा गर्ने रणनिति सहित चुनावी मैदानमा होमिएका छन् ।

दुवै पक्षका उम्मेदवारहरुले आफ्नो जीत निश्चित भएको दावी गरेका छन् । सत्ता गठवन्धन तर्फका उम्मेदवार गर्बुजाले म्याग्दीमा २०५६ यता कम्युनिष्टले एकक्षत्र राज गर्दै आएको र कम्युनिष्टको यो किल्ला यस पटकको निर्वाचनबाट ढल्ने बताएका छन् भने नेकपा एमालेका उम्मेदवार श्रेष्ठले गठवन्धनकै समर्थकहरुको भोटले आफूले चुनाव जितेर देखाउने चुनौती गर्बुजा लगाएत गठवन्धनका नेताहरुलाई दिएका छन् ।यतिखेर दुवै पक्षका उम्मेद्वारहरु मतदाताको घरदैलोमा मत माग्न पुगेका छन् ।

उम्मेद्वारसंगै राजनीतिक दलका नेता ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षणमा जुटेका हुन् । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका कर्णेल नाराणसिंह पुनले र २०६४ सालमा नेकपा माओवादीले बाहेक सवै निर्वाचनमा एमालेले जित्दै आएको छ ।

नेकपा एमालेका उम्मेदवार श्रेष्ठलाई पार्टीको यो विरासत सुरक्षित गर्नुपर्ने ठूलो चुनौति छ भने गठवन्धनका उम्मेदवार गर्बुजालाई जसरी भए पनि चुनाव जितेर गठवन्धनको साख जोगाउनुका साथै आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नुपर्ने वाध्यता छ ।

गठवन्धनका उम्मेदवार गर्बुजाले आफ्नो र पार्टीको अवस्था २०७४ सालको भन्दा निकै बलियो रहेको र त्यसमाथि पनि गठवन्धनका पार्टीहरुको पूर्ण साथ र सहयोग रहेकोले यस पटक आफ्नो नेतृत्वमा गठवन्धनले जितेर एमालेको गडलाई भत्काउने दावी गरेका छन् । गर्बुजा भन्छन् ‘म ०७४ सालको निर्वाचनयता खारिएको छु, जनता पनि नेकपा एमालेको नेतृत्वमा जिल्लामा भएका गतिविधि देखेर आजित भएका छन्,त्यसमाथि गठबन्धनको बलियो साथ छ, यसपटक नेकपा एमाले हार्छ हार्छ ।’

नेपाली कांग्रेस र गठवन्धन दलका ‘जातवाद’ विरुद्धका मतदाताहरुको मत आफूले तान्ने कसरतमा नेकपा एमाले छ । त्यसका साथै कांग्रेसको पुरानो पुस्ता गर्बुजाको विरुद्धमा रहेको बुझाइमा एमाले छ । एमाले गर्बुजासँग रुष्ट पुराना र पाका कांग्रेसीहरुको मत तान्न सकिने भन्दै कसरतमा लागेको बुझिएको छ ।

गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट धोका खाएको कांग्रेसको एउटा तप्काले वदलाको भाव देखाउन सक्ने अनुमान गरेर नै नेकपाका उम्मेदवार श्रेष्ठले ‘गठवन्धनको भोटले नै चुनाव जित्छु’ भन्ने अभिव्यक्ति प्रकट गरेका छन् । गत स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो भने नेकपा एमाले भन्दा अहिलेको सत्ता गठवन्धनको मत ४ हजारले बढी छ । नेकपा एमाले यही ४ हजार मत आफ्नो पक्षमा ल्याएर चुनाव जित्ने कसरतमा लागेको छ ।

परम्परागत विकासे आश्वासन भन्दा फरक छैनन् एजेण्डा

दुवै पक्षका उम्मेदवारहरुका चुनावी एजेण्डा भने मिल्दाजुल्दा नै छन् । परम्परागत विकासे आश्वासनलाई नै समेटेर उनीहरुले यस पटक पनि आफूलाई भोट दिन जनतासँग अपिल गरेका छन् । अझ रमाइलो त के छ भने उम्मेदवारहरुले भेगीय विकासे नारालाई चुनावको एजेण्डा बनाएका छन् ।

पश्चिम म्याग्दी,मध्य म्याग्दी र उत्तर म्याग्दीकालागि उम्मेदवारहरुका एजेण्डा पनि फरक फरक छन् । स्थानीय तहका जनप्रतिनिधिले गर्ने प्रतिवद्धता बोकेर संघीय र प्रदेशका प्रतिनिधि भोट माग्न जनताका दैलोमा पुगेको रोचक दृश्य म्याग्दीमा देख्न सकिन्छ ।

सवै उम्मेदवारले मोटरबाटो,जलविधुत, खानेपानी, सिंचाई,स्वास्थ, कृषीमा आधुनिकिकरण गर्ने, हररेक घरमा इन्टरनेट पु¥याउने, गाउँगउँमा पर्यटकीय गन्तव्य बनाउने र युवालाई रोजगारीमा जोड्ने प्रतिवद्धता सहितका एजेण्डा बनाएका छन् ।

उम्मेदवारहरु पश्चिम म्याग्दी पुग्दा धौलागिरि हिमालसँग पर्यटनलाई जोड्ने र सबै गाउँ विजुली वत्तिले झिलिमिली पारिदिने कुरा गर्छन् भने मध्य म्याग्दी पुग्दा धौलागिरि आइसफल,रिखार क्षेत्र ,गलेश्वरमा धार्मिक पर्यटन,पुलस्त्य क्षेत्रको विकासका आश्वासन बाँडेर मत माग्नेगरेका छन् । त्यसैगरी उत्तरी क्षेत्रमा पुग्दा बल्ल आश्वासनमै भएपनि पदीय स्तरीयता अनुकुल हुने एजेण्डाहरु पाइन्छन् ।

दलहरुले उत्तरी म्याग्दीका एजेण्डामा बेनी–जोमसोम–कोराला सडकको कालापत्रेदेखि लिएर कालीगण्डकी करिडोर,जलविद्युत आयोजना,विश्व परिचित घोडेपानी,पुनहिलको पर्यटन विकासका एजेण्डाहरु उठाएका छन् । जिल्लाका सबै स्थानीय सडकलाई ग्राभेल गरी कालोपत्रे तहमा स्तरोन्नति गर्नेदेखि लिएर प्रत्यके म्याग्देलीका घरघरमा स्वच्छ खानेपानी पुर्याउने, घोप्टोखोला, चिमखोला–राखु बृहत् खानेपानीजस्ता अधुरा ठूला योजना सम्पन्न गर्ने जस्ता आकर्षक आश्वासन जनतालाई दिएका छन् ।

नेकपा एमालेका उम्मेदवार श्रेष्ठले जिल्लामा विद्युत्, धार्मिकसमेत सबैखाले पर्यटन विकास, फलफूल, पशुपालनमा आधुनिकीकरणमार्फत रोजगारी सृजनामा आफ्नो पहल रहने दावी गरेका छन् भने सत्ता गठवन्धनका उम्मेदवार गर्बुजाले जनताको सेवा गर्न बेलायतको सुखसुविधा त्यागेर जिल्ला आएको दाबी गर्दै आफूले चुनाव जितेमा जिल्लाको सबै बस्तीमा स्तरीय मोटरबाटो, पर्यटन तथा ऊर्जामा लगानी वृद्धि गरी रोजगारी दिने, जिल्लाका सबै जग्गाजमिनको आधुनिक रूपमा नापनक्सा बनाउने, रेमिटेन्सको रकमलाई पर्यटन, जलस्रोत र वनपैदावरको क्षेत्रमा लगानी गर्ने, बेनी जोमसोम सकड कालोपत्र गरिदिने मतदाताहरु सामु वचनवद्धता व्यक्त गरेका छन् ।

प्रतिष्ठाको लडाइँ बन्दै निर्वाचन
म्याग्दीमा आगामी चुनावलाई प्रतिष्ठाको लडाइँको रुपमा पनि लिइएको छ । नेकपा एमाले आफ्नो गढ यथावत राख्न चाहन्छ भने सत्तारुढ नेपाली कांग्रेस ,माओवादी,जनमोर्चा ,एकिकृत समाजवादी पार्टी भने एमालेको गढ भत्काउन चाहन्छन् ।

सवै उम्मेदवारले चुनाव जितेमा मोटरबाटो, खानेपानी, सिंचाई, जलविद्युत, स्वास्थ, कृषीमा आधुनिकिकरण गर्ने, हररेक घरमा इन्टरनेट पु¥याउने, गाउँगउँमा पर्यटकीय गन्तव्य बनाउने र युवालाई रोजगारीमा जोड्ने आशा देखाएका छन् । मतदाताको मन जित्न सबै दलका उम्मेदवारले ठाउँ र भेगअनुसार फरक–फरक विकासका नारालाई चुनावी एजेन्डा बनाउने गरेका छन् ।

अन्य पार्टी र स्वतन्त्र उम्मेदवार पनि घर दैलोमा
प्रतिनिधिसभामा राप्रपाका जगतप्रसाद गौचन, राष्ट्रिय स्वतन्त्र पार्टीका हरि केसी, मंगोल नेशनल अर्गनाइजेशनका ओमराज मगर, नेप्लिज पिपल्स पार्टीका बिष्णु घिमिरे खत्री, स्वतन्त्रबाट अन्नपूर्ण गाउँपालिका–६ का खीलबहादुर बरुवाल, बेनपा ७ का नविन जिसी र अन्नपूर्ण–६ ,का विनोद भट्टचन पनि घरदैलो अभियान गरी मत मागिरहेका छन् ।

प्रदेशसभा क्षेत्र क मा राप्रपाका प्रविन शाही, राप्रपा नेपालका दुध गिरी, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन उमेद्वार छन् ।प्रदेशसभा क्षेत्र ख मा राप्रपाकी मिठु थापा, मंगोल नेशनल अर्गनाइजेशनका डेकबहादुर पुन (डिके) र स्वतन्त्र देविन्द्र फगामीले पनि चुनावी घरदैलो अभियान संचालन गरेका छन् ।

यस्तो छ अंकगणितीय चुनावी अवस्था
प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ३ जना स्वतन्त्र सहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँच जना उम्मेद्वार छन् ।वि.स. २०५६ मा काँग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधीसभा सदस्य निर्वाचन जितेका छन्। प्रजातन्त्र पुनस्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेकोथियो ।

२०७४ मा एक वटा प्रदेशसभा माओवादी र एक वटा एमालेले जितेका थिए । पाँच वर्षअघिको संसदीय चुनावमा एमाले–माओवादी र काँग्रेस–राप्रपाले तालमेल गरेका थिए । गत स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडा, काँग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडा, माओवादीले दुई उपप्रमुख र ६ वटा वडा जितेका थिए। स्थानीय चुनावमा एमालेका वडा अध्यक्षका उम्मेद्वारले २३ हजार ९०, कांग्रेसले १९ हजार ८७० र माओवादीले ८५९२ मत ल्याएका थिए ।

६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन् । बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभरी जम्मा ८६ हजार १२० जना मतदाता छन् ।

 

Leave a Reply