आधुनिक गीत, सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्दै गएपछि सोरठी नाच हराउँदै गएको छ । सोरठी नाच मुख्यगरी मगर र गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहारमा सोरठी गाउने, नाच्ने र युवाले साथ दिने चलन भए पनि पछिल्ला वर्ष निकै कम हुँदै गएको बुढापाकाको गुनासो छ ।

आधुनिक गीत सङ्गीत र नाचप्रति युवापुस्ताको मोह बढ्नुले सोरठी नाच ओझेलिएको बाग्लुङकाे बडिगाडका ७७ वर्षीय रत्नबहादुर बुढा बताउनुहुन्छ ।

बाग्लुङको गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा सोरठी निक्कै प्रचलित नाच हो । चाडपर्व र मेला महोत्सवमा नाचिने यो नाच खासगरी तिहार पर्वसँग सम्बन्धित मानिन्छ । यो नाच समूहमा गाउने र नाचिने गरिन्छ ।

नाच प्रस्तुत गर्दा एक जना सिङारु हुन्छ । जसले महिलाको पहिरन गरेर नाच्ने चलन छ । समूहमा रहेका केही बूढापाकाले मादल बजाउने र गीत गाउने गर्छन् । अरूले उनीहरूसँगै गाउने र नाच्ने गर्छन् ।

‘एक दशक अगाडिसम्म गाउँघरमा तिहारको बेला निकै रमाइलो हुन्थ्यो’, रत्नबहादुर भन्नुहुन्छ, ‘जताततै सोरठी नाच्ने र गाउनेहरु भेटिन्थे । अहिले यो नाच देख्न समेत मुस्किल छ ।’

नयाँ पुस्ताले यो नाच नाच्न चासो नदेखाएपछि लोप हुने अवस्थामा पुगेकोमा बुढापाका चिन्ता व्यक्त गर्छन् । ७७ वर्षका रत्नबहादुर भन्नुहुन्छ, ‘अहिलेका युवाले सिक्नै चाहेनन्, यो नाच लोप भयो भने त हाम्रो पहिचान पनि गुम्छ कि भन्ने डर लाग्छ, सिकाउन खोजेँ तर सिक्नेले सिक्नै नखोजेपछि सकिँदो रैनछ, बरु अरू गीतमा नाच्छन्, सोरठीमा नाच्दैनन् ।’

पुराना पुस्ताबाट नयाँ पुस्ताले मौलिक कला संस्कृति नसिक्दा सोरठी नाच हराउँदै गएको तमाखोला गाउँपालिका ३ का ६७ वर्षीय भक्तबहादुर पुनले गुनासो गर्नुभयो । ‘जमाना फेरिए, यस्ता संस्कृति पनि हराउँदै गए, निकै दुःख लाग्छ । उहाँ भन्नुहुन्छ, ‘अहिलेका युवाले सिके त पुखौँसम्म पनि जीवित रहन्थ्यो कि।’ उहाँले आधुनिकतासँगै पुराना संस्कार र संस्कृतिलाई पनि निरन्तरता दिनुपर्ने बताउनुहुन्छ ।

बाग्लुङ निसीखोला गाउँपालिका–६ का ७० वर्षीय पृथबहादुर घर्तीमगर पुस्ता हस्नान्तरण नहुँदा पुराना कला, संस्कृति लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । केही वर्ष अगाडिसम्म मेला पर्वमा पुराना परम्परासँग जोडिएका गीत गाइने, पुराना नाच नाच्ने गरेकोमा अहिले त्यस्ता गीत र नाच सुन्न र देख्नसमेत नपाइने उहाँको भनाइ छ ।

अहिले गाउँ सहरमा बुढापाकाले नाच्दै आएको सोरठी नाच खास्सै नदेखिने गलकोटका ३२ वर्षीय युवा प्रेम काउचाले बताउनुभयो । उहाँ आफ्नो पुस्ताले पुराना लोक, संस्कृतिलाई जगेर्ना गर्नुको सट्टा पश्चिमा संस्कृतिलाई बढावा दिइरहेको कारण सोरठी हराउँदै गएको स्वीकार गर्नुहुन्छ ।

पछिल्लो समय अध्ययन तथा रोजगारीका लागि बजार झर्ने र बजारमा आधुनिक गीत, सङ्गीत सुन्ने र गाउने हुँदा सोरठी नाच लोप हुने अवस्थामा पुगेको उहाँ बताउनुहुन्छ । तिहारमा पनि समूह, सङ्घ–संस्था, विद्यार्थी, स्थानीयवासी पनि आधुनिक गीत सङ्गीत बजाएर नाच्न थालेपछि पुरानो सोरठी नाच ओझेलमा परेको उहाँकाे भनाइ छ ।

Leave a Reply