म्याग्दीको सदरमुकाम बेनीबजारको एक फेन्सी पसलमा कोही नभएको मौका छोपी गएराती मध्यरातमा साढे ५ लाखभन्दा बढी नगद चोरी भएको छ । बेनी नगरपालिका-८,मा अवस्थित रखाल शिवानी फेन्सी पसलभित्र राखिएको नगद चोरी गरी फरार भएका चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका बालकहरू १० देखि १३ बर्ष उमेरका रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक एवं सूचना अधिकारी राजन ढकालले बताउनुभयो ।

‘चोरी भएको २४ घन्टा नबित्दै उनीहरूलाई पक्राउ गरिएको छ,‘चोरी भएको सबै पैसा भेटिएको छैन’प्रहरी निरिक्षक ढकालले भन्नुभयो । चोरी गरेको पैसाले वियर, मासु किनेर खाँदै गरेको र केहीले झोलामा लिएर हिड्दै गरेको अवस्थामा विगतको पृष्ठभुमीका कारण खोजतलास गर्दा साथबाट ६० हजार नगद फेला परेको छ ।

चोरी भएको बाँकी रकमका बारेमा अझै मुख नखोलेकाले प्रनानी ढकालको भनाई छ । चोरीमा संलग्न बालकलाई तालिम प्राप्त चोरहरुले समेत प्रयोग गरेको हुनसक्ने र चोरी भएको रकम लिएर गएको आशंका समेत गरिएको छ ।

नियन्त्रणमा लिएका चारैजना मध्यरातमा सटरको चाबी फोरेर चोरी गर्दा प्रत्यक्ष संलग्न थिए । चारजना बालकमध्ये एक पर्वत र बाँकी म्याग्दीकै रहेपनि बालक भएकाले थप अनुसन्धानपछि सुधारगृहमा पठाउने बताइएको छ । चोरीमा संलग्न बालकको चोर्ने शैली देखेर प्रहरी नै चकित परेको छ ।

चारजनामध्ये मान्छे हेर्ने, पैसा बोक्ने र बाडफाँड गर्ने जिम्मेबारी नै विभाजन गर्ने गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । यता तिहारको समयमा बैक तथा वित्तिय संस्था बन्द भएपछि पसलमा ब्यापार भएको आर्थिक सुरक्षित राखेर घरमा गएको अवस्थामा चोरी भएको पसलका सञ्चालकले प्रहरीलाई बताएका छन् ।

चोरीकर्ममा लागेका बालकहरु कोही बुवा नभएका, कोही आमा नभएका रहेका छन्। चोरीमा संलग्न बालक–किशोरको समूहले विगतमा मोवाइल तथा किराना पसलमा समेत चोरी गरेका थिए । किराना पसलमा नगद पैसा नभेटिएपछि मदिरा र चुरोट भएपनि लिएर हिड्ने गरेको पाइएको थियो । बेनीबजारमा चोरीमा लागेका बालक लागु औषधीका पारखी रहेको पाइएको छ ।

 

 

Leave a Reply