आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ । मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले चामल वितरण गरेकी स्थानीयवासीले बताएका छन् ।

२५ किलोग्राम तौल भएको कमल ब्राण्डको युएस प्रिमियम चामल १८ बोरा पठाएकोमा १० बोरा स्थानीयलाई वितरण गरेको र आठ बोरा चामल शनिबार फिर्ता गरेका हुन् । स्थानीयवासीका अनुसार तिहार अघि इग्रेमा गएकी बिटालुले मतदातालाई भेटघाट गरेर फर्केपछि दरवाङका ब्यापारीको बोलेरो गाडीमा चामल पठाइदिएकी थिईन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहितामा मतदातालाई प्रभावित बनाउन नगद, जिन्सी लगायत कुनै पनि बस्तु वितरण गर्न पाइदैन् । मतदाता प्रभावित बनाउन खोज्ने उम्मेद्वार र दललाई निर्वाचन आयोगले स्पष्टिकरण सोध्ने देखि उम्मेद्वारी खारेज गर्ने सम्मको कारबाही व्यवस्था छ ।

“मिटिङ्ग बसेको मिति ठ्याक्कै थाहा भएन । बेगप्रसाद गर्बुजा र खरमाया बिटालु आउनुभएको थियो । मिटिङ्ग बसेर गएपछि खरमाया म्याडमले १८ बोरा चामल पठाइदिनुभएको थियो । एमालेलाई भोट हाल्ने कुरा भयो । एमालेलाई भोट हाल्चुङ भनेर नौ बोरा चामल लगेका छन् । एक पिस यहीँ मसँग छ्,“ स्थानीयवासीले भनेका छन् । यता यस विषयमा नेकपा एमाले चुनाव परिचालन समितिले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन् । निर्वाचनको मुखमा मतदातालाई रिझाउन राजनितिक दलले प्रभाव पार्ने गरेको पाइएको छ ।

 

Leave a Reply